Skip to main content

फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला डिपिआर तयार, ईआईए बनमा

Submitted by editor on
ईआईएका लागि सबै रिपार्ट तयार भएर संघीय बन मन्त्रालयमा बुझाईएको छ । बनले ईआईए रिपोर्ट स्विकृत गर्ने वित्तिकै पुर्वाधार निर्माणको बाटो खुल्नेछ ।
शिवराज भट्ट
फाप्ला क्रिकेट रंगशाला

धनगढी : सुदरपश्चिममा निर्माणको तयारी भएको फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर तयार भएसँगै निर्माण हुने आशा पलाएको छ । नेपाल सरकारले २०७९ सालको जेठमा फाप्ला क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश–२०७९ जारी गरेको थियो ।

त्यतीबेला नै फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा सुवास शाही र सदस्यमा कल्पना दियाकोटी मनोनित भएका थिए । ९ सदस्यीय समितिमा अध्यक्ष र एकजना सदस्य बाहेक ७ जना पदेन सदस्य रहने ब्यवस्था छ ।

रंगशालाको जग्गा जोडिएको धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख पदेन रहने ब्यवस्था छ । यस्तै सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख र उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पदेन सदस्य रहने ब्यवस्था छ ।

रंगशाला पुर्वाधार निर्माण विकास समिति गठन भएपछि गत आर्थिक वर्ष २०८०÷८१ मा सरकारले रंगशालालाई प्रार्थमिकताको आयोजनाका रुपमा राखेर डिपिआर र ईआईए रिपोर्टका लागि १ करोड बजेट विनियोजन ग¥यो । पुर्वाधार निमार्ण विकास समितिले गरेको खरिद प्रकृयामा डिपिआर र ईआईएको ठेक्का ग्रेड÷मास श्रेष्ठ जेभीले ६० लाखमा पाएको थियो ।

‘ग्रेड÷मास श्रेष्ठ जेभीले २०८१ को  असोजमै डिपिआरको रिपार्ट बुझाई सकेको छ भने पुर्वाधार निर्माण समितिले त्यसलाई पास पनि गरिसकेको छ । ईआईएका लागि सबै रिपार्ट तयार भएर संघीय बन मन्त्रालयमा बुझाईएको छ । बनले ईआईए रिपोर्ट स्विकृत गर्ने वित्तिकै पुर्वाधार निर्माणको बाटो खुल्नेछ’ समितिका अध्यक्ष सुवाश शाहीले भने ।

फाप्ला क्रिकेट मैदानलाई संघीय र प्रदेश सरकारले प्राथमिकतामा राखेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले पछिल्लो ४ वर्षदेखि बजेट छुट्याएको थियो । तर प्रदेश र संघीय सरकारले विनियोजन गरेका बजेट फ्रिज हुँदै आएको थियो । आयोजना पूरा गर्न बजेट अभाव हुँदैन भन्ने विश्वास शाहीलाई छ । 

‘सुरुवाती बजेट थोरै भए पनि बहुवर्षीय परियोजना भएको हुनाले बजेटमा समस्या हुँदैन भन्ने लागेको छ,’ शाहीले भने, ‘यसको निर्माण मोडल अन्यभन्दा फरक छ । यहाँ सरकारी लगानीका साथसाथै निजी र खेलकुदसँग सम्बन्धित वैदेशिक निकायले पनि लगानी गर्न पाउँछन् ।’

ड्रिम फाप्ला अभियान सुरु भएको ८ वर्ष भए पनि जग्गाप्रप्ति नभएकाले पनि यसको काम सुरु हुन सकेको थिएन । धनगढीको चौरहाबाट ५ किलोमिटर दूरीमा रहेको साढे ४१ विघाको जग्गा भोगाधिकार २०७८ सालमै पाइएको थियो । ५० हजार दर्शक अटाउने क्षमताको क्रिकेट रंगशालामा बनाउने लक्ष्य रहेको अध्यक्ष शाहीले बताए ।

‘पहिलो चरणमा २५ हजार दर्शक क्षमताको रंगशाला सहितका पुर्वाधार बन्नेछन, त्यसका लागि १० अर्वको लगानी हुने देखिन्छ । दोस्रो चरणमा खेलग्राम बनाईनेछ । त्यसमा होटल रेष्टुरा पनि बन्ने छन । गठन आदेशमै अन्तराष्ट्रिय र नीजि क्षेत्रको लगानी पनि भित्र्याउन पाउने प्रावधान राखिएको छ । त्यसैले पनि रंगशाला र खेलग्राम बनाउनमा बजेटको अभाव नहुने आशा गरेका छौं’ शाहीले भने ।

दोस्रो तरणको निर्माणमा फूटबल मैदान, बहुउद्देशीय इन्डोर हल, संग्रहालय पनि बन्नेछन । यसअघिको भारत भ्रमणका बेला परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि भारत सरकारलाई उक्त क्रिकेट रंगशाला निर्माणका लागि अनुरोध गरेकी थिईन । भारत त्यसका लागि सकारात्मक रहेको उनले पत्रकार सम्मेलेनमै सार्वजनिक पनि गरेकि थिईन ।