धनगढी : धनगढीको देवहरिया वनस्पति उद्यानमा व्यावसायिक फोटो खिच्न निषेध गरिएको छ।
वनस्पति अनुसन्धान केन्द्र, कैलालीले देवहरिया उद्यान परिसर भित्र व्यावसायिक रूपमा फोटो खिच्ने कार्यमा रोक लगाएको हो।
केन्द्रले शुक्रवार एक सूचना जारी गर्दै उद्यान परिसरका कनै पनि भागमा आगन्तुकहरू बाट शुल्क लगेर फोटो खिच्ने व्यवसायीहरूलाई निषेध गरेको छ। सूचनामा भनिएको छ, “यस वनस्पति अनुसन्धान केन्द्र, कैलाली मातहत रहेको देवहरिया वनस्पति उद्यानमा वनस्पतिक सम्पदाको संरक्षण, अध्ययन, अनुसन्धान, शैक्षिक क्रियाकलाप लगायत प्राविधिक सेवा प्रदान गर्ने कार्यहरू नियमित रूपमा सञ्चालन भइरहेको ब्यहोरा अनुरोध छ । देवहरिया वनस्पति उद्यान परिसर भित्र कुनै पनि संघ संस्था तथा व्यक्तिले कुनै पनि प्रकारको व्यावसायिक गतिविधि सञ्चालन गर्न नपाउने ब्यहोरा समेत अनुरोध छ।
केही समयदेखि उद्यानमा प्रवेश गरि व्यावसायिक रूपले फोटो खिच्ने र आगन्तुकहरू बाट फोटो खिचे वापत रकम लिने गरेको सम्बन्धमा जन गुनासो समेत बढ्दै गएकाले मिति २०८२ भदौ १ गतेदेखि उद्यान परिसरमा कुनै पनि भागमा व्यावसायिक रूपमा फोटो खिच्ने कार्य निषेध गरिएको छ।
देवहरिया वनस्पति अनुसन्धान केन्द्रका प्रमुख वरिष्ठ वैज्ञानिक अधिकृत गंगा दत्त भट्टले पछिल्लो समय उद्यान भित्र व्यवसाय गर्ने मनसायले फोटो खिच्ने र आम्दानी गरेको पाईएकाले उद्यान परिसरमा व्यावसायिक क्रियाकलाप निषेध गरिएको बताए।