धनगढी : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले कैलालीको गेटामा तीन सय शैयाको अस्पताल चलाएर आउदो असारदेखि नै एमविविएसको पढाई गर्न सकिने बताएका छन । मन्त्रालयको कार्यक्रमका सिलसिलामा सोमबार धनगढी पुगेका मन्त्री पौडेलले मंगलबार विहानै गेटा अस्पतालको निरिक्षणका क्रममा यस्तो बताएका हुन ।
‘पछिल्लो समय सिंहदरबार पछि ठूलो लगानीमा गेटामा पुर्वाधार निर्माण भएका छन । ७ अर्वका पुर्वाधार बनेपनि ती खाली छन । उपकरण छन, तीनका बाहिरका प्लाष्टिक पनि खोलिएका छैनन । त्यसैले चालु आर्थिक वर्षमा तीनसय शैयाको अस्पताल बनाएर आउदो आर्थिक वर्षदेखि एमविविएसको पढाई सुरु गर्न सकिन्छ’ उनले भने ।
चिकित्सा शिक्षाको अध्ययनका लागि तीन सय शैयाको अस्पताल कम्तीमा पनि तीन वर्ष चलेको हुनुपर्ने प्रावधान छ तर उनले मुलुकका ६ प्रदेशमा चिकित्सा शिक्षाको अध्ययन सुरु भईसकेको र सुदूरपश्चिममा अहिलेसम्म पनि चिकित्सा शिक्षाको पढाई सुरु नभएकाले त्यसका लागि विषेश निर्णय गरेर भएपनि एमविविएसको पढाई गर्न सकिने बताए ।
‘सुदूरपश्चिममा एमविविएसको पढाई सुरु भएको छैन । ६ प्रदेशमा भईसक्यो, चिकित्सा शिक्षा आयोगले विषेश परिस्थिति भन्दै तीन सय शैयाको अस्पताल बन्ने वित्तिकै एमविविएसको पढाई गर्न सकिने विषेश निर्णय गर्नसक्छ । मेरो प्रयास त्यसतर्फ रहेको छ’ उनले भने ।
उनले यस्तो निर्णयले सुदूरपश्चिमलाई पनि न्याय हुने र सरकारलाई पनि सबै प्रदेशमा एमविविएसको पढाई भयो भनेर भन्न सकिने अवस्था आउने बताए । आफ मन्त्री हुनेवित्तिकै पार्टी सभापति शेरबहादुर देउवाले बोलाएर नै गेटामा अस्पताल र चिकित्सा शिक्षाको अध्यापनका लागि कामगर्नु भनेर निर्देशन दिएको पनि उनले स्मरण गराए । ‘म मन्त्री हुने वित्तिकै मेरो पार्टी सभापतिले बोलाएर मेरो प्रदेशमा मात्र एमविविएसको पढाई भएको छैन । गेटा र डडेल्धुरामा त्यो काम गर्नु भनेर निर्देशन गर्नु भएको थियो । म पार्टी सभापतिको निर्देशन अनुसार काममा खटिएको छु’ उनले भने ।
उनले गेटामा मेडिकल शिक्षाको पढाई हुदैमा, तीन सय शैयाको अस्पताल चल्दैमा मेडिकल विश्वविद्यालय बन्दैन भन्ने मानसिकता त्याग्न आग्रह गरे । ‘तीन सय शैयाको अस्पताल पनि चल्दै गर्छ । चिकित्सा शिक्षाको पढाई पनि हुदै गर्छ । मेडिकल विश्वविद्यालयको आफ्नो प्रकृया छ, त्यो पनि अघि बढ्दै गर्छ’ उनले भने ।
उनले तीन सय÷६ सय शैयाको अस्पताल चलेको ठाउँ, एमविविएस र एमडीको पढाई भईरहेको ठाउँलाई विश्वविद्यालय बनाउन झन सजिलो हुने भएकाले क्रमिक रुपमा हुने विकासमा शंका नगर्न आग्रह गरे ।
गेटामा बनेका पुर्वाधार संघीय शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय अन्तर्गत छन । शिक्षाले अस्पतालका लागि मात्रै केही भवनहरुको भोगाधिकार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको छ । अहिले गेटामा सय शैया घोषणा भएपनि ५० शैयाको अस्पताल सञ्चालनमा छ । सेती प्रादेशीक अस्पतालमा दैनिक १४ सय विरामीको घुँईचो भईरहेका बेला गेटामा जनशक्ति नभएका कारण दैनिक १५÷२० जना विरामी मात्रै आउने गरेका छन ।
मन्त्री पौडेलले भने, ‘मेडिकल शिक्षाको अध्यापन भएपनि, अस्पताल चलिरहेको भएपनि विश्वविद्यालयमा जाने वित्तिकै, जसरी शिक्षाले हामीलाई भवन भोगाधिकार दियो, स्वास्थ्यले पनि त्यस्तै गरी विश्वविद्यालय सञ्चालन गर्ने बेला ती पुर्वाधारहरु शिक्षालाई फिर्ता गरिदिन्छ । मन्त्रालय भनेका जनताका हुन । यसमा कुनै असहज मान्नुपर्ने कारण नै छैन ।’