Skip to main content

भारत सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा बन्दरगाह अब यस्तो बन्नेछ

Submitted by editor on
ईबिगुल संवाददाता
 दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह

कञ्चनपुरः कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१ मा एकीकृत जाँच चौकी अर्थात् सुक्खा बन्दरगाह बन्नेछ ।

जुन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गौरीशंकर मध्यवर्ती सामुदायिक वनको ४२.३६ हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ । बन्दरगाह निर्माणको काम भारत सरकारको पूर्ण प्राविधिक तथा आर्थिक सहयोगमा हुनेछ । भारत सरकारले बन्दरगाह निर्माण गरेपछि यसको सञ्चालन नेपाल इन्टरमोडल यातायात विकास समितिले गर्नेछ । बन्दरगाहको लागत ५ अर्ब ७६ करोड नेपाली रूपैयाँ लाग्ने डीपीआरमा उल्लेख छ ।

निर्माण शुरू भएको ३ वर्षभित्रमा काम सम्पन्न गर्नुपर्नेछ । एक वर्षअघि नेपाल–भारत सम्झौताअनुसार आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) भारत सरकारले नै तयार पारेको थियो । त्यतिबेला मध्यवर्ती वन क्षेत्रको ६३ हेक्टर क्षेत्रफलमा बन्दरगाह निर्माण हुने उल्लेख गरिएको थियो । र,वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) तयार गर्दा ७ अर्ब २ करोड लाग्ने अनुमान गरिएको थियो । तर, पुनः वातावरणीय व्यवस्थापन योजना (ईएमपी) स्वीकृतिमार्फत क्षेत्रफल घटाएर अहिले ४२.३६ हेक्टरमा झारिएको हो ।

निकुञ्जको ४२.३६ हेक्टर क्षेत्रफलमा रुख काट्ने स्वीकृति पाइसकेको समितिले तीन महिनाभित्र रुख काटेर जग्गा खाली गर्नेछ । खाली भएको जग्गा भारत सरकारलाई उपलब्ध गराउनेछ । भारतले सम्पूर्ण निर्माणको काम गर्नेछ । नेपालबाट महाकाली नदीमा निर्माणाधीन पुल प्रवेश निकासीको मार्ग बन्नेछ भने भारतबाट प्रवेश निकासको एकीकृत जाँच चौकी (आईसीपी) बनबासा हुनेछ । सीमा नजिकै निर्माण हुने बन्दरगाहमा छुट्टाछुट्टै लेनसहितको सडक निर्माण हुनेछ ।
बन्दरगाहसम्म पुग्नका लागि महाकाली नदीमा चार लेनको पक्की पुल र पहुँच मार्ग बनिसकेको छ । तीन तलाको बन्ने बन्दरगाहमा ३ हजार ७ सय ५७ मिटर लामो, ३ मिटर उचाइ भएको पर्खाल हालेर घेराबार बनाइनेछ । बन्दरगाह क्षेत्रभित्र सडक, पार्किङ, प्लेटफर्म, गोदाम, भन्सार कार्यालय, तौल पुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, पशुपन्छी तथा खाद्य जाँच केन्द्र, कार्यशाला, बैंक, प्रहरी केन्द्र, प्रशासनिक भवनलगायतका भौतिक पूर्वाधार निर्माण गरिनेछन् ।

आयाततर्फ ७ हजार वर्ग मिटर क्षेत्रफल र निर्याततर्फ २ हजार ५२० वर्ग मिटर क्षेत्रफलमा छुट्टाछुट्टै गोदाम निर्माण हुनेछन् । आयोजना अनुसार यात्रु टर्मिनल भवन, प्रशासनिक भवन, चमेना गृह, सुरक्षा कर्मचारी भवन, भन्सार कार्यालय, बैंक तथा क्वारेन्टाइन भवन, कर्मचारी आवास क्षेत्र, पार्किङ तथा शौचालय, ३ हजार संख्यामा मालवाहक सवारी साधन पार्किङ निर्माण गरिने डीपीआरमा उल्लेख छ । यसका साथै एक सय मेट्रिक टन क्षमताको तौल पुल र हरियाली क्षेत्र निर्माण गरिनेछ । उक्त क्षेत्रभरि ११ केभीएको वितरण लाइनमार्फत ५ सय केभीए क्षमताको ट्रान्सफर्मर जडान हुनेछ । दोधारा–चाँदनी सुक्खा बन्दरगाहमार्फत भारतका पाँच राज्यसँग प्रत्यक्ष रूपमा सुदूरपश्चिम जोडिने छ । पञ्जाव, हरियाणा, राजस्थान, गुजरात र उत्तराखण्ड जस्ता ठूला राज्य जोडिनेछन् ।