धनगढीः धनगढीको फाप्लामा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिगको उपाधि भीमदत्त नगरपालिकाले जितेको छ।
बुधबार भएको खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि कब्जा जमाएको होे। उपाधिसँगै भीमदत्तले नगद २ लाख जितेको छ। उपविजेता बनेको पुनर्वासले एक लाखमा चित्त बुझाएको छ। भीमदत्त नगरपालिकालाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अविजित अर्धशतकीय साझेदारी गरे।
बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय पारी खेले। भीमदत्त नगरपालिकालका लागि मिलन बोहराले ३४ रनको योगदान दिए। पुनर्वास नगरपालिकाका लागि भोजराज भट्टले ३ विकेट लिएपनि टिमलाई जिताउन भने सकेनन। कृष्ण कार्की र सागर भण्डारीले समान एक एक विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका बी ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनायो। पुनर्वासका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका बसन्त सिंह कार्कीले आक्रामक ब्याटिङ गरे। ४० बलको सामना गरेका कार्कीले ७ चौका र ४ छक्काको मद्दतले अविजित ७२ रनको पारी खेले।
त्यस्तै कप्तान विपिन रावल ३८ रन, सुवास ऐर १८ रन,नवयुग बस्नेत १४ रन बनाए भने आशिष लुहार १२ रनमा रिटार्यड आउट भए। भीमदत्त नगरपालिकाका लागि साजन बिटालु,किरन चन्द,सन्तोष भट्ट र समिर बिष्टले समान एक एक विकेट लिए। प्रतियोगितामा भीमदत्त नगरपालिका अरुण ऐरी सर्वोकृष्ट खेलाडी भए।
उनले नगद २५ हजार प्राप्त गरे। उनी दुई खेलमा प्लेर अफ दि म्याच भएका थिए भने प्रतियोगितामा उनले १० विकेट लिएका थिए। पुर्नवास नगरपालिका दिपक बोहोरा उत्कृष्ट ब्याटर भए। उनले नगद १५ हजार पाए। उनले प्रतियोगितामा एक सय ८२ रन बनाएका थिए। त्रिवेणी नगरपालिकाका दिपक टमट्टा उत्कृष्ट बलर भए। उनले पनि नगद १५ हजार प्राप्त गरे।
उनले प्रतियोगितामा १० विकेट लिएका थिए। धनगढी उपमहानगरपालिका मनिस जोशी उदयमान खेलाडी भए। उनले नगद १० हजार प्राप्त गरे। प्रतियोगिताका विजयी खेलाडीहरुलाई सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का लगायतले पुरस्कार वितरण गरिन्। जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष विक्रक विष्टको अध्यक्षतामा भएको समापन समारोहमा प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघका पदाधिकारी सहितका क्रिकेट प्रेमीहरुको सहभागीता रहेको थियो।