कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीकी अमृता चौधरी अपाङ्ग छन्।
शारीरिक अपाङ्ग रहेकी अमृताका २ सन्तान छन्। उनका १० वर्षका छोरा र ६ वर्षकी छोरी छन्। उनीहरूको अध्ययन एक संस्थागत विद्यालयमा स–शुल्क हुँदै आएको छ। आमा शारीरिक अपाङ्ग र बुवा दैनिक ज्यालादारीको काम गर्ने भएकाले विद्यालयले कम रकम लिने गरेको हो। अमृता फेरि गर्भवती छन्। उनको पेटमा नौ महिनाको बच्चा छ। स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले भिडिओ एक्सरे गर्न सुझाव दिएका छन्। पेटमा रहेको बच्चा उल्टो रहेको आशँका गर्दै स्वास्थ्यकर्मीले परीक्षणका लागि आग्रह गरेका हुन्।
तर, अमृतासँग पैसा छन्। उनका श्रीमान दैनिक ज्यालादारीको काम गर्न धनगढी आउछन्। उनले परिवारको पालन पोषण गर्नु छ। आँखाको शल्यक्रिया गर्दा लिएको ऋणको मासिक १३ हजार किस्ता तिर्नुछ। उनीसँगै भिडिओ एक्सरे गर्न पाँच सय रुपैयाँ पनि छैन। आर्थिक अभावका कारण अमृताले भिडिओ एक्सरे गर्न पाएकी छैनन्। श्रीमानले धनगढीमा दैनिक ज्यालाबाट कमाएको रकमले उनीहरू चामल, दाल, नुन, तेल लगायतको सामान खरिद गरेर खाने गरेका छन्। उनीहरूको सम्मतिको नाममा पुनर्वासमा सानो घर छ। खेती गर्न जग्गा भने छैन।
शारीरिक अपाङ्ग रहेकी अमृता गर्भवती भएकाले जङ्गल जान सक्दैनन्। दाउरासमेत खरिद गरेर बाल्नुपर्ने अवस्था छ। रकम अभावका कारण उनको घरमा ग्याँस चुलो छैन। श्रीमान बिहान ५ बजे धनगढी आउछन्। साँझ ४ बजे बिदा हुन्छ। एक घण्टामा मात्र साइकलमा घर पुग्छन। आँखाको शल्यक्रिया गर्ने चिकित्सकले ढुङ्गा नबोक्न भनेको छ। धुलो–धुवाबाट आँखा जोगाउन भनिएको हो। तर, परिवारको खाना खर्च जुटाउन काम गर्नै पर्ने अवस्था उनको छ। शल्यक्रियाको एक हप्ता घरमा बसेका उनका श्रीमान फेरि काममा जान थालेका छन्। श्रीमानले झिल्लीमा लिएको चामलले उनको परिवार गुजारा गर्दै आएको छ।
स्वास्थ्यकर्मीहरूले फागुन २४ गते अमृताले बच्चा पाउने समय दिएको छ। तर, फागुन २० गतेसम्म पनि पेटमा रहेको बच्चाको अवस्थाको बारेमा उनलाई जानकारी छैन। सुत्केरी हुने समय हुँदा पनि उनीसँग रकम छैन। रकम अभावका कारण श्रीमानले अमृतालाई धनगढी ल्याउन सकेका छैनन्। स्वास्थ्यकर्मीले नगरपालिकाबाट सहयोग माग गर्न भनेपछि उनीहरू पुगेका थिए। तर, नगर प्रमुखले उपप्रमुखलाई देखाए। उपप्रमुखले वडाध्यक्षबाट सहयोग माग गर्न भने। अमृताले कतैबाट सहयोग पाएकी छैनन्। धनगढीका निजि अस्पतालमा भिडिओ एक्सरे गर्न एक हजार पाँच सय र सरकारी अस्पतालहरूमा पाँच सय खर्च हुने भएपनि उनीहरूसँग त्यो रकम पनि छैन।