Skip to main content

कञ्चनपुरमा वडाध्यक्षले विरोध स्वरुप सडकमै कार्यालय सञ्चालन

Submitted by editor on
ईबिगुल संवाददाता
डकमै कार्यालय

धनगढी :  ३ वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने सडक ५ वर्ष पुग्नै लाग्दा पनि निर्माण सम्पन्न नभएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकामा वडाध्यक्षले विरोध स्वरुप सडकमै कार्यालय सञ्चालन गरेका छन । 

ठेकेदारलाई पटक(पटक आग्रह गर्दा पनि काम नगरेपछि वडा नम्बर २ का अध्यक्ष अर्जुन साउँदले सडकमै कार्यालय राखेर विरोधको नयाँ शैली अपनाएका हुन । वडाध्यक्ष साउँदले फागुन १८ गते देखि कार्यान्वयन निकाय पूर्वाधार विकास कार्यालय कञ्चनपुर र ठेकेदारलाई दबाब दिन सडकमै वडा कार्यालय राखेर विरोध जनाएका थिए ।

तर, सडकमा वडा कार्यालय राखेको ४ दिन बितिसक्दा पनि ठेकेदारले भने अझै काम गर्ने छाटकाट देखाएका छैनन् । वडाध्यक्ष साउँदले ठेकेदारले काम गरेजस्तो गरे पनि भर पर्न सक्ने अवस्था नभएको बताए । उनले यसअघि पनि पटक पटक काम गरेजस्तो गरेर बेपत्ता हुने गरेकाले यस पटक जसरी पनि काम सम्पन्न गराउनका लागि दबाब जारी राखेको बताए । कालोपत्रे गर्ने कार्यको सुनिश्चितता नहुँदासम्म सडकमै बसेर सेवा प्रवाह गर्ने उनको भनाइ छ । जन दबाब बढ्न थालेपछि सडकमै कालो ब्यानर राखेर कालोपत्रेका लागि सडकमा उत्रिनु परेको उनले बताए ।

सुदूरपश्चिम सरकारको गौरवको योजनामा पर्ने बंक(नायल–बुडर सडक निर्माणका लागि २०७७ साउनमा सन्तोषी जेभी थेगिङ सँग सम्झौता भएको थियो । सम्झौता अनुसार २०८१ वैशाखमा काम सक्नुपर्ने भए पनि हाल सम्म ३५ प्रतिशत पनि काम पुरा भएको छैन ।

तोकिएको मितिमा काम नसकिएपछि हाल पूर्वाधार विकास कार्यालय कञ्चनपुरले २०८२ चैत ३० सम्म तोकेको छ । हाल थपिएको म्याद बाकी भए पनि ठेकेदारले कामै नगरेपछि वडाध्यक्षले सडकमै कार्यालय राखेर विरोध थालेका हुन । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र बहादुर अधिकारीले निर्माण व्यवसायीको लापरबाहीका कारण समयमा काम पुरा हुन नसकेको बताए ।उनले ठेकेदारलाई पटक पटक पत्राचार गर्दा पनि काम नगरेको बताए ।

‘निर्माण व्यवसायीले एक हप्ताभित्र काम सुरु गर्छु भन्ने तर काम नगर्ने प्रवृति देखिएको छ’ उनले भने ‘अहिले काम गरेको जस्तो देखाउने गरी बेस बोक्ने काम गरेको छ । तर, निकै सुस्त काम भइरहेको छ ।’ उनले कामको गति नबढाए ठेक्का तोड्ने चेतावनी ठेकेदारलाई दिइएको बताए । उनले बंक पहरिया दोमिल्ला ७ किलोमिटर सडकमा सव बेसको काम गरिएको भए पनि बेसको काम गरेर कालोपत्रेको काम बाकी रहेको बताए । सडक निर्माणका लागि एघार करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो ।