Skip to main content

पूर्व राजा ज्ञानेन्द्रलाई ओलीले भने ‘राजनीतिमा हो भने यु आर वेलकम’

Submitted by editor on
प्रदेश सभालाई सम्बोधन गर्दै ओलीले यो सरकार २०८४ सालको चुनाव गरेर मात्र ढल्ने बताए ।
शिवराज भट्ट
प्रधानमन्त्री केपी शर्मा ओली

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्रलाई राजनीतिमा आउन चुनौती दिएका छन । सुदूरपश्चिम प्रदेश सभाको १७ औ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन ।

‘फागुन ६ गते पूर्व राजाको कुरा सुन्दा अचम्म लाग्यो । मलाई साथ दिनुस, म आउछु, देश बनाउछु, देश के भएको छ ? प्रधानमन्त्री ओलीले भने । ‘यस्ता अस्थिरताका क्रियाकलापहरुले, अराजकताका क्रियाकलापहरुले देशलाई सभ्य ढंगले, सुसंस्कृत ढंगले अगाडि बढन दिदैन ।’

ओलीले पूर्व राजालाई राजनीति आए स्वागत गरिने बताए । ‘अराजनीतिमा आउने की राजनीतिमा ? राजनीतिमा आउुने हो भने युआर वेलकम । स्वागत छ । उमेदवार हुनुहुन्छ साथ माग्न हुनुहुन्छ, मजाले माग्न पाईन्छ । तर अराजनीतिक कुरा गरेर देशमा अस्थिरता ल्याउन पाईदैन ।’

प्रधानमन्त्री ओलीले देशमा विग्रेको आर्थिक अवस्थामा सुधार आईरहेको बताए । ‘मैले प्रधानमन्त्री हुुँदाको बेलाको अर्थब्यवस्था नाजुक थियो । गतवर्ष २५ प्रतिसत कम राजश्व संकलन भएको थियो । यो वर्ष ३० प्रतिसत बढी राजश्व संकलन गर्ने लक्ष्य लिएका छौं, अर्थब्यवस्था छिट्टै लयमा आउछ’ उनले भने ।

प्रदेश सभालाई सम्बोधन गर्दै ओलीले यो सरकार २०८४ सालको चुनाव गरेर मात्र ढल्ने बताए । ‘अहिले सरकार आजै ढल्छ भोली ढल्छ, भरे ढल्छ भनेर रमाउनेहरु बढी छन, म के आश्वस्त पार्न चाहन्छु भने यो सरकार ८४ को चुनाव गरेर मात्र ढल्छ ।

उनले अन्तिम १८ महिनाका लागि काँग्रेसले नेतृत्व लिने सहमति भएको बताए । ‘१८ महिनाका लागि शेरबहादुर जि को नेतृत्वमा सरकार चल्छ । उहाँले नै २०८४ सालको चुनाव गराउनुहुन्छ । त्यसपछि कसको सरकार बन्छ ? त्यो कुरा परिणाले देखाउने भयो’ प्रम ओलीले भने ।

प्रदेश सभा सम्बोधन पछि ओलीले संघ सरकारको लगानीमा बनेको धनगढी सिटि हलको पनि उद्घाटन गरे भने उक्त हल सञ्चालनको जिम्मेवारी धनगढी उपमहानरपालिकालाई दिईएको छ । आइतबार ओलीले सिटिहल उपमहानगरलाई हस्तान्तरण पनि गरे ।

आईतबार विहान ओलीले सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहको पनि उद्घाटन गरेका थिए । ओली आईतबार नै राजधानी फर्किएका छन ।