Skip to main content

एक वर्षमा गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा

Submitted by editor on
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ७६ हजार ७५९ जनाले आँखासम्बन्धी बिरामीले अस्पतालबाट ओपिडी सेवा लिएको अस्पतालले जनाएको छ ।
ईबिगुल संवाददाता
गेटा आँखा अस्पताल

धनगढी : कैलालीको गेटा आँखा अस्पतालबाट गत आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ८० हजार जना आँखासम्बन्धीका बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् ।

गेटा आँखा अस्पताल र सोही अस्पताल अन्तर्गत रहेका आँखा अस्पताल र आँखा उपचार केन्द्रहरूबाट दुई लाख ८० हजार १५ जनाले आँखासम्बन्धी विभिन्न समस्या भएका बिरामीले ओपिडी सेवा लिएको गेटा आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत एवं सूचना अधिकारी गोविन्दप्रसाद जोसीले जानकारी दिए । जसमध्ये २२ हजार २७३ जनाको शल्यक्रिया गरिएको उनले बताए ।

आँखा अस्पतालले सुदूरपश्चिमका नौवटै जिल्लामा निःशुल्क आँखा शिविर पनि सञ्चालन गरेको थियो । त्यस क्रममा १८ वटा सर्जिकल क्याम्पहरू सञ्चालन गरिएकामा ओपिडी सेवा लिएका १० हजार ५७३ जनामध्ये दुई हजार ५२ जना आँखासम्बन्धी बिरामीको निःशुल्क शल्यक्रिया गरिएको सूचना अधिकारी जोसीले बताए । त्यस्तै २१७ वटा ‘स्पोट स्क्रिनिङ क्याम्प’ गरेर २३ हजार ८६५ जनाको आँखा जाँच गरिएको थियो ।

गेटा आँखा अस्पतालले गत आवमा विद्यालय आँखा जाँच कार्यक्रम पनि सञ्चालन गरेको थियो । त्यस क्रममा ४०८ वटा विद्यालयमा गएर ८६ हजार ६४३ जना बालबालिकाको आँखा जाँच गरेको उनले बताए । आँखा जाँच गर्दा केही बालबालिकाको दृष्टिमा समस्या देखिएका र चस्मा लगाउनुपर्नेहरू एक हजार २८० जनालाई निःशुल्क चस्मा वितरण गरेको उनले बताए ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ७६ हजार ७५९ जना आँखासम्बन्धी बिरामीले अस्पतालबाट ओपिडी सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालमा आँखासम्बन्धी सम्पूर्ण उपचार निरन्तर प्रवाह भइरहेको छ ।

गेटा आँखा अस्पतालमा छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत आँखा उपचारका लागि बिरामी आउने गरेका छन् । अस्पतालको उपचार सेवाप्रति विश्वास हुनुका साथै गुणस्तरीय सेवा प्रवाह भएकाले पनि लामो समयदेखि आँखा उपचारको लागि भारतीय मूलका नागरिक यहाँ आउने गरेका छन् ।
पछिल्लो समय भने भारतको पलियालगायत स्थानमा आँखासम्बन्धी अस्पताल खुलेपछि पहिलेको तुलनामा भारतीय बिरामीको चाप केही घटेको सूचना अधिकारी जोसीले बताए ।