धनगढी ः प्रेस चौतारी नेपाल कैलालीले फागु पूर्णिमा (होली) पर्वको अवसरमा होली कार्यक्रम मार्फत एक लाख ७७ हजार रुपैयाँ संकलन गरेको छ । संस्कृति सम्बद्र्धन र मौलिकता प्रबद्र्धन अभियान अन्तरगत प्रेस चौतारीले २८ फागुनदेखि १ चैतसम्म होली खेलेको थियो ।
सो क्रममा एक लाख ७७ हजार रुपैयाँ संकलन भएको प्रेस चौतारी कैलालीका अध्यक्ष जनक सिंह विष्टले जानकारी दिए । आइतबार होली कार्यक्रमको आय र व्ययको विवरण सार्वजनिक गर्दै अध्यक्ष विष्टले एक लाख ७७ हजार चार सय पाँच रुपैयाँ संकलन भएकोमा ८० हजार नौ सय ६० रुपैयाँ खर्च बताए ।
खर्च कटाएर प्रेस चौतारीले ९६ हजार चार सय ४५ रुपैयाँ बचत गरेको छ । तर २५ हजार रुपैयाँ भने संकलन हुन बाँकी रहेको छ । सो अनुसार अहिले ७१ हजार चार सय ४५ रुपैयाँ खुद बचत भएको आय–व्यय विवरणमा उल्लेख छ ।
प्रेस चौतारीले तीन दिनसम्म गाडी भाडामा लिएर जिल्लाभर होली खेलेको थियो । प्रदेश प्रमुख नजिर मियाँबाट होलीको सुरुवात गरेको चौतारीले टीकापुरदेखि धनगढीसम्मको खेलेको थियो ।
शिर्षकगत रुपमा तीन दिनको गाडी भाडामा २६ हजार चार सय पाँच रुपैयाँ खर्च भएको छ भने खानामा ३० हजार नौ सय रुपैयाँ खर्च भएको छ । खाजामा ६ हजार आठ सय पाँच रुपैयाँ, होलीको लुगामा ६ हजार आठ सय रुपैयाँ, मादल, खैजडी, कार्ड छपाई, साउण्ड बक्समा १० हजार ५० रुपैयाँ खर्च भएको छ ।
चौतारीले होलीको समयमा खाना खुवाउने र लुगा सहयोग गर्नेहरूको अभिलेख राख्दै सो रकमलाई समेत आम्दानी र खर्चमा समावेश गरेको अध्यक्ष विष्टले बताए । होली कार्यक्रमबाट संकलन भएको रकम प्रेस चौतारीको कोषमा जम्मा गर्ने संगठनले जनाएको छ ।