धनगढी : बाजुरामा गाईलाई ढुंगाले हान्दै नदीमा बगाएको घटना संसदमा उठेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाएकी हुन् ।
‘परम्पराको नाममा मान्छे कतिसम्म निच भइदिन्छन् भन्ने बाजुरा जगन्नाथ गाउँपालिका वडानम्बर ६ काभ्रेको घटनाले देखाउँछ’, उनले भनिन् ।
‘गौदान पश्चात गरिएको ती हृदयबिदारक घटनाले जो कोहीको पनि मन रुन्छ’, रानाले भनिन्, ‘गाई नदिमा जान डराउँछ तर ढुंगाहरू प्रहार गरी निरीह प्राणीको बाँच्च पाउने अधिकारको हनन् गरेका व्यक्तिहरूमाथि कडा छानबिन होस सरकार ।
आइतबार बाजुराको जगनाथ गाउँपालिका (६ काप्रेमा नदीमा स्थानीय एक व्यक्तिको मलामीहरुले एउटा गाईलाई कुट्दै बल प्रयोग गरेर बगाइँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । गाई नदीमा बगाउँदा फर्किन खोज्दा स्थानीयले ढुंगा हानेर फर्काइरहेका थिए । गाई दुई पटक फिर्ता नदी किनारामा आउन खोजेपछि स्थानीयले गाईलाई ढुंगा हानेर लखेटेको भिडियोमा देख्न सकिन्छ । स्थानीय एक व्यक्ति मृत्युपछि दाहसंस्कार लागि मलामी गएका व्यक्तिले गाईलाई ढुंगाले हानेका हुन् । कसैको मृत्यु भएपछि नदी कटाएर गौदान दिने परम्परा अनुसार ढुंगा हानेका हुन् ।