धनगढी : पर्याप्त पानी नपरेपछि कैलालीका किसानले बोरिङका भरमा रोपाइँ सुरु गरेका छन् । किसानले बोरिङको मद्दतले भूमिगत पानीबाट सिँचाइ गरी रोपाइँ गर्न थालेका हुन् । यस वर्ष मनसुन चाँडै नेपाल प्रवेश गरे पनि सुदूरपश्चिम प्रदेशसम्म अझै पुगिसकेको छैन । पश्चिमी र स्थानीय वायुको प्रभावले भने फाटफुट पानी परिरहेको छ ।
पर्याप्त पानी नपरे पनि खेतीपातीका बेला सुरु भएकाले रोपाइँ गर्न थालेको कैलारी गाउँपालिका ७, मोहनपुरका कृषक बलराम चौधरीले बताए । गाउँघरमा एकरदुई परिवारले रोपाइँ थालेपछि देखासिकी सबैले रोपाइँ सुरु गर्ने परिपाटी पनि रहेको छ ।
“ब्याड तयार भइसकेकाले हामीले पनि रोपाइँ गर्न थाल्यौँ,” चौधरीले भने, “ढिलो भएमा वरिपरिका सबै खेत रोपिसक्छन् । आफ्नो खेतसम्म हलगोरु, पावर ट्रिलर लैजाने बाटो हुँदैन ।”
किसानले बोरिङले पालैपालो भूमिगत पानी तानेर खेत सिँचाइ गर्ने कार्य गरिरहेको बताइएको छ । सबै किसान बोरिङकै भरमा रहेकाले पालो पाउन समस्या रहेको जनाइएको छ । यसै गरी सुक्खाका कारण बोरिङमै पानी कम आइरहेको किसानले बताएका छन् । दिनभरि इन्जिन चलाएर मुस्किलले एकरदुई कट्ठा जमिनमा सिँचाइ हुने गरेको कृषक फूलराज चौधरीले बताए । उनले गाउँघरका सबैले रोपाइँ थालेका कारण पानी नपरे पनि आफूले पनि रोपाइँको काम सुरु गरेको उल्लेख गरे ।
पहाडी क्षेत्रमा पर्ने जिल्लाको चुरे र मोहन्याल गाउँपालिका बाहेक बाँकी ११ वटा पालिकामा सबैभन्दा बढी धान खेती हुने गरेको छ । डुबान प्रभावित भजनी नगरपालिकाका किसानले बर्खेभन्दा धेरै चैते धानको खेती गर्दै आएका छन् ।