Skip to main content

धनगढीमा एमालेको विशेष सभा, तीन पदाधिकारी धनगढी आउदै

Submitted by editor on
‘परिवर्तन विरोधी गतिविधिविरुद्ध कडा सन्देश दिन सभा आयोजना गरिएको हो’
ईबिगुल संवाददाता
एमालेका तीन पदाधिकारी

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको धनगढीमा आयोजना गर्न लागेको प्रदेशस्तरीय विशेष सभामा एमालेका तीन पदाधिकारीले सम्बोधन गर्ने भएका छन् । 

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले प्रदेश उपसचिव तथा प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले जानकारी दिइन् ।

प्रदेश कमिटी सचिवालयको छैटौँ बैठकले बृहत विशेष सभाको तयारी तीव्र बनाउने निर्णय गर्दै र सम्बोधन गर्ने नेताहरूको बारेमा जानकारी गराइएको थियो ।  ‘लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र अराजकताविरुद्ध आयोजना गर्न लागिएको कार्यक्रम भब्य बनाउने गरि तयारी भएको छ’ उपसचिव बिष्टले भनिन् । ‘केन्द्रीय तीन पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।’

नेकपा एमालेले देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रुपमा कैलालीमा सभा आयोजना गर्न लागिएको उनले बताइन् । सभामा सबै तहका नेता, कार्यकर्ता, तथा परिवर्तन पक्षधर आम जनतालाई सहभागी हुन आग्रह गरिएको छ ।

‘परिवर्तन विरोधी गतिविधिविरुद्ध कडा सन्देश दिन सभा आयोजना गरिएको हो’ इन्चार्ज लेखराज भट्टले भने ‘जनताको साथमा एमाले छ भन्ने सन्देश पनि सभाले दिनेछ ।’ पार्टीले यस सभालाई सुदूरपश्चिममा शक्ति प्रदर्शनसहित जनचेतना अभिवृद्धिका रुपमा लिएको छ ।

सचिवालय बैठकमा सभाको व्यवस्थापन र तयारीसहित पार्टीलाई अझै जनमुखी केन्द्रित बनाउने बारे छलफल भएको छ । स्ववियु निर्वाचनको समीक्षा गर्दै बाकी रहेका कलेजहरूमा अखिललाई जिताउने गरि लाग्ने, अधिवेशन गर्न वाकी रहेका सबै कमिटीहरूको वैशाख १५ सम्म अधिवेशन सम्पन्न गर्ने, सदस्यता नवीकरण र अनलाइन अभिलेखीकरणलाई अगाडी बढाउने सचिवालयले निर्णय गरेको छ ।

पार्टी गतिविधि विरुद्ध लागेको भन्दै एमाले प्रदेश सल्लाहकार गोविन्द कुवरलाई कारबाही गर्न सचिवालय बैठकले केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।