कञ्चनपुरः डडेल्धुराबाट जन्तिलिएर कञ्चनपुर फिर्ता आइरहेको स्कारपियो दुर्घटना भएको छ।
डडेल्धुराको परशुराम नगरपलिका–७ मलासबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा जान्ति लिएर आइरहेको भारतिय नागरिकले चलाएको युके ०६ पिए ४२४९ नम्बरको स्कारपियो आइतवार राति ९ः४५ बजे भीमदत्त नगरपालिका–३ तिलकपुरमा दुर्घटना भएको हो। स्कारपियो दुर्घटना हुँदा दुलाह र दुलहीसहित ७ जना घाइते भएका छन्।
घाइते हुनेमा बझाङको वित्थडचिर गाउँपालिका बस्ने २५ वर्षीय डम्मर खडायत, सोही ठाउँकी ३२ वर्षीया त्रिमली खडायत, डडेल्धुराको परशुराम नगरपलिका–८ की २२ वर्षीया शान्ति बोहरा, कैलालीको गोदावरी नगरपालिका–२ की २२ वर्षीया मनिषा धामी, गोदावरीकै १६ वर्षीया भुमिका धामी घाइते भएका छन्। यी ५ जना घाइतेहरुको मन्त्र अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको वडा प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
यस्तै भीमदत्त नगरपालिका–६ का २९ वर्षीय लक्ष्मण खडायत (दुलाह) र डडेल्धुराको परशुराम नगरपलिका–७ मलासकी २२ वर्षीया बशन्ति धामी (दुलही) घाइते भएका छन्। यी दुबै जना दुलाह र दुलही भने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ। स्कारपियो चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।