Skip to main content

काँग्रेसका नारायणदत्त भट्टको मनोनयन खारेजीको मागगर्दै निर्वाचन आयोगमा उजुरी, अपांगता नभएको आरोप

Submitted by editor on
ईबिगुल संवाददाता
नारायण दत्त भट्ट

धनगढी : राष्ट्रिय सभा निर्वाचनमा अपांग कोटाबाट मनोनयन दर्ता गरेका नेपाली काँग्रेसका सभापती नारायण दत्त भट्टको उमेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । 


नेकपा एमालेबाट अपांग कोटामा मनोनयन दर्ता गरेका रामचन्द्र जोशीले भट्ट अपांग नभएकाले उनको उमेदवारी खारेजीको मागगर्दै मंगलबार आयोग समक्ष उजुरी गरेका हुन । 


‘नेपाली काँग्रेसका सभापती समेत रहेका भट्टले अहिलेसम्म अपांगता भएको परिचय पत्र नलिएको र उनी अपांग क्लस्टरबाट मनोनयन दर्ता गर्न नपाउने भएकाले उमेदवारी खारेजीको माग गर्दछु’ जोशीले गरेको उजुरीमा भनिएको छ ।


एमालेबाट मनोनयन दर्ता गरेका जोशीले अपांगता क्लष्टरमा पर्नका लागि स्थानीय तहका उपप्रमुख÷उपाध्यक्षको नेतृत्वमा रहेको ९ सदस्यीय समितिले परिचयपत्र दिएको हुनुपर्ने दाबी गरे । 


‘हरेक स्थानीय तहमा अपांगता भएका ब्यक्ति तोक्नका लागि उपमेयर÷उपाध्यक्षको अध्यक्षतामा ९ सदस्यीय समिति हुने गर्छ । त्यस समितिमा चिकित्सक सहित अपांगता भएका ब्यक्ति वा संस्थाहरुको पनि प्रतिनिधित्व रहने गर्छ । त्यो समितिले चार प्रकारको अपांगता परिचय पत्र दिन्छ, तर भट्टले अहिलेसम्म अपांगता परिचयपत्र लिएका छैनन’ जोशीले तर्क गरे । 


भट्टले सोमबार मात्रै वडा नम्बर १२ बाट अपांगता भएको सिफारिस बनाएर निर्वाचन कार्यालयलाई बुझाएको पनि जोशीको दाबी छ । 
तर भट्टले भने स्थानीय तहले दिने कार्ड भनेको सामाजिक सुरक्षा भत्ताको कार्ड मात्रै भएकाले आफुले भत्ता खानेगरी कार्ड नबनाएको दाबी गरे । ‘मसँग गृहमन्त्रालयले दिएको जनआन्दोलनको ५० प्रतिसत अपांगताको कार्ड छ । निर्वाचन कार्यालयले स्थानीय तहको पनि कार्ड चाहिन्छ भनेपछि त्यो पनि पेश गरेको छु’ भट्टले भने । 


उनले आफु लोकतन्त्रका लागि लडेको र जनआन्दोलनका क्रममा महिनौंसम्म खुट्टा भाँचिएर घरमा थन्किएको सबैलाई थाहा भएको तर्क गरे ।