Skip to main content

१० वर्षसम्म अलपत्र बैतडीको बसपार्कमा हलगोरु जोतेर रोपाइ गरियो

Submitted by editor on
ईबिगुल संवाददाता
बसपार्कमा हलगोरु जोतेर रोपाइ

बैतडी : बैतडीको पाटन बजारस्थित बसपार्कको निर्माण १० वर्षसम्म सम्पन्न नभएपछि रोपाइ गरिएको छ।

असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसर पारेर स्थानीयले हलगोरु प्रयोग गरी रोपाइँ गरेका हुन्।

आर्थिक वर्ष २०७१/७२ मा सुरु गरिएको पाटन बसपार्कको निर्माण कार्य हालसम्म अधुरै रहेको छ। स्थानीयले विरोधस्वरूप प्रतीकात्मक रूपमा धान रोपेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टले टक–पटक अनुरोध गर्दा पनि बसपार्कको निर्माण कार्य अगाडि नबढेकाले बाध्य भई शान्तिपूर्ण विरोधको माध्यमबाट दबाब दिन रोपाइँ गरिएको बताए।

स्थानीय व्यापारी कृष्ण सिंह भाटले सवारी साधनको चापलाई ध्यानमा राखी सुरु गरिएको बसपार्क निर्माण कार्य सम्पन्न नहुँदा पाटनवासीलाई दैनिक रूपमा समस्या बेहोर्नुपरेको बताए। निर्माण नहुँदा बजार क्षेत्रमै सवारी पार्किङ हुन थालेको छ, जसले थप अव्यवस्था सिर्जना गरेको भाटले बताएका छन्।

पाटन नयाँ सहर आयोजना अन्तर्गत आठ वटा बस र चार वटा जिप पार्किङ गर्न सक्ने क्षमताको बसपार्क निर्माण थालिएको थियो। तर, निर्माण सुरु भएको १० वर्ष पुगिसक्दासमेत काम सम्पन्न नहुनु चिन्ताको विषय भएको स्थानीयको भनाइ छ। सरकारले मध्य पहाडी लोकमार्ग अन्तर्गतको १० औँ नमुना सहरका रूपमा पाटनमा बसपार्क निर्माण कार्य थालेको भए पनि विभिन्न कारणले काम रोकिँदा विकास कार्यमा अवरोध आएको स्थानीयवासीको गुनासो छ।

स्थानीय नागरिक तथा व्यवसायीहरूले निर्माण कार्य तत्काल अघि बढाई निर्धारित समयमा सम्पन्न गर्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।