Skip to main content

टेलिकमको कबाड विक्रि प्रकरण : दुुईटै ट्रक बराबरको माल एउटैमा

Submitted by editor on
ईबिगुल संवाददाता
तामा तौल

धनगढी : नेपाल टेलीकमको एउटै ट्रकमा १४ हजार ९८२ किलो तामा तौल भएको छ । प्रहरीले पक्राउ गरेका एकै दिनका दुुई ट्रकमा १५ हजार ७ सय ७९ किलोको तौल भएको भन्दै बिल बनेकोमा एकै ट्रकमा १४ हजार ९८२ किलो तौल भएपछि अनियमितता भएको पुस्टी भएको छ । 

जिल्ला प्रशासन कार्यालयको छानविन समितिले अत्तरियाबाट पक्राउ परेको ट्रकको विहीबार अबेर रातीसम्म तौल गरेको हो । ‘हामीले एउटा ट्र«कको तौल गरेकोमा त्यसको तौल १४ हजार ९८२ किलो भयो । अर्को ट्रकको तौल गर्न बाँकी छ’ छानविन समितिका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकी अधिकृत शिवराज जोशीले भने ।

उनले अबेर राती भएकाले अर्को ट्र«कको तौल शुक्रबार मात्रै गरिने बताए । नेपाल टेलीकमको कबाडजन्य पदार्थमा अनियमीतता भएको भन्दै प्रशासनले छानविन सुरु गरेको थियो । नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयबाट तामाजन्य (स्क्रप कपर केबल) कवाडी सामानको लिलाम बिक्रीका क्रममा अनियमितता भएको आशंकामा स्थानीय प्रशासनले प्रशासकीय अकितृत शिवराज जोशीको नेतृत्वा छानबिन समिति गठन गरेको थियो । 

तीन दिनअघि कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको निर्देशनमा प्रहरीले टेलिकमको दूरसंचार कार्यालय गेटाबाट लोड गरेर लैजाने क्रममा सामग्री सहितका दुई वटा ट्रक नियन्त्रणमा लिइएका थिए ।टेलिकमको अभिलेखभन्दा प्रहरीले नियन्त्रणमा लिएका ट्रकको तौल झण्डै दोब्बरले बढी देखिएपछि अनियमितताको आंशका गरिएको हो ।

टेलिकमको गेटास्थित गोदामबाट १५ हजार ६ सय ७९ किलो (१५.६७९ टन) निकासी भएको अभिलेख छ । तर प्रहरीले नियन्त्रणमा लिइएका दुई वटै लोड ट्रकको तौल ५१ हजार ८३५ किलो (५१.८३५ टन) देखिएको छ । दुई वटा ट्रक मध्ये रा १ ख ३२०६ नम्बरको ट्रक ईलाका प्रहरी कार्यालय मालाखेतीले आइतबार गेटाबाट नियन्त्रणमा लिएको थियो । 

मालाखेती प्रहरीका एक अधिकृतका अनुसार उक्त लोड ट्रकको तौल २७ हजार ८३५ किलो (२७.८३५ टन) छ । गेटाबाटै समान लोड गरेर नेपालगञ्ज जाँदै गरेको ना ६ ख ४६० नम्बरको ट्रकलाई पनि आइतबार नै सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । 

यसकार्यमा प्रहरीका केही अधिकृतहरु, टेलिकमका कर्मचारी र ठेकेदार कम्पनी बीच मिलेमतो भएको आशंका रहेको कैलालीका एक सुरक्षा सम्बद्ध अधिकृतले बताए ।

निर्देशनालयका अनुसार प्रबल थापाको नाममा रहेको बिएलएस कन्स्ट्रक्सन काठमाडौं नामक कम्पनीले टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयसँग ठेक्का सम्झौता गरेको थियो । 

निर्देशनालयका अनुसार टेलिकमले उपलब्ध गराउने तामाजन्य (स्क्रप कपर केबल) कवाडी सामान खरिदकर्ता कम्पनीले टेलिकमसँग प्रतिकिलो भ्याटसहित ८ सय ५० रुपैयाँ ८९ पैसामा खरिद सम्झौता भएको छ ।