Skip to main content

राना थारु समुदायले आज तिज पर्व मनाउँदै, कैलाली र कञ्चनपुरको ६ पालिकामा बिदा

Submitted by editor on
ईबिगुल संवाददाता
teej

धनगढीः कैलाली, कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायले आइतबार तिज पर्व मनाउँदै छन।

आज महिला दिदीबहिनीहरू दिनभरि निराहार व्रत बसेर तिज पर्व मनाउन लागेका हुन। यो पर्वमा दिनभरि व्रत बसेर साँझ नदीमा पूजाआजा गरेर त्यहीँ प्रसादको रूपमा तयार पारिएको परिकार खाने चलन छ। राना थारु समुदायको तिज अरू समुदायको तिजभन्दा फरक हुने गरेको छ। महिलाहरू आफ्नो दाजुभाइ, भतिजाको दीर्घायुको कामना गर्दै व्रत बस्ने गरेका छन्।

नेपालमा अन्य समुदायले मनाइने तिजको अवसरमा महिनौँ दिनसम्म दर खाने गरेपनि राना थारु समुदायका महिलाले दरबिनाको तिज मनाउने गरेका छन्। राना थारु समुदायले तीजको दिन दिनभरि निराहार व्रत बसेर अपराह्न वा बेलुकातिर नदीमा गएर पूजा गर्ने त्यस क्रममा समानकी डोला बनाउन प्रयोग गरिएको डोरी ९मुरिया० काटेर लग्ने गर्दछन्। यसै गरी, झुरकी ९कुसको गाँठो० बनाएर लग्ने चलन छ।

विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने चलन छ। मुरिया र झुरकी दुवै नदीमा सेलाइन्छ। सो क्रममा व्रतालुहरुले झुरकी र मुरियालाई नदीको धारमा छोडेर ‘धारै धार टाढा जानू, हाम्रो दाजुभाइ, भतिजाको उमेर बढाउनू’ भन्ने गरिन्छ। झुरकी नदीमा बगेर जति टाढा गए दाजुभाइ, भतिजाको आयु त्यति नै लामो हुने विश्वास रहेको छ।

तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ। यसै गरी, दाजुभाइहरूले व्रतालुहरूलाई आशीर्वादको साथै सकेको दक्षिणा पनि दिने गरिन्छ।

कैलाली र कञ्चनपुरको ६ पालिकाहरुद्धारा विदा

यसैबिच राना थारू समुदायले मनाउने तीज पर्वको अवसरमा कैलालीको गोदावरी नगरपालिकाले सार्वजनिक विदा दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै श्रावण शुक्ल तृतीयाका दिन राना थारु समुदायको तिजको अवसरमा स्थानीय विदा दिने निर्णय गरेको जनाएको छ।

राना थारू समुदायले मनाउने तीज पर्वको अवसरमा कैलालीको धनगढी उपमहानगरपालिकाले पनि विदा दिएको छ। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाडी गाउँपालिकाले सार्वजनिक विदा दिएका छन्।