Skip to main content

नेपालका लागि ब्राउनसुगरको कारोबार गर्ने भारतीय नागरिकको सम्पत्ती जफत

Submitted by editor on
ईबिगुल संवाददाता
लागुपदार्थ माफिया

धनगढी : नेपालमा ब्राउन सुगर सहितका लागुपदार्थको सप्लाई गर्ने एकजना भारतीय लागुपदार्थ माफियाको सम्पत्ती भारत सरकारले जफत गरेको छ । नेपालको कैलाली र कञ्चनपुर जिल्लासँग सीमाना जोडिएको भारतको खिरि जिल्लाको पलिया बजारमा बस्दै आएका लागुपदार्थ तस्कर अनमोल गुप्ताको घर सम्पत्ती आईतबार भारत सरकारले जफत गरेको हो । 
भारतको खिरि जिल्ला अदालतको आदेशमा पलिया प्रहरीले अनमोल गुप्ताको घरमै गएर अवैध रुपमा कमाएको धनसम्पत्ती जफत गरेको घोषणा गरेको हो । 

खिरि जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी एसडिएम) ज्याती बर्माको नेतृत्वमा डिएसपी (सिओ) यादवेन्द्र यादव र ईलाका प्रहरी कार्यालय पलियाका प्रमुख (कोतवाली प्रमुख) पंकज त्रिपाठी सहितको टोलीले अनमोल गुप्ताको घरमै पुगेर माईकिङ गर्दै उनको झण्डै ८५ लाख नेपाली मुद्रा (भारु ५२ लाख ६० हजार) बराबरको सम्पत्ती जफत गरिएको घोषणा गरेका हुन ।

भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले लागु पदार्थ ओसारपसारमा नयाँ र कडा कानून ल्याएका छन । अनमोल गप्तालाई उत्तरप्रदेश सरकारले गुण्डा एक्ट लगाएको छ । भारतको गुण्डा एक्टमा अपराधीलाई जेल सजाय मात्रै होईन, उसले अवैध कारोबार गरेर कमाएको धनसम्पत्ती पनि जफत गरिने प्रावधान छ ।

अनमोल गुप्ता यसअघि ४ पटक ब्राउन सुगर सहितका लागुपदार्थको कारोबारमा पटक पटक पक्राउ परिसकेका ब्यक्ति हुन । उनी मात्रै होईन, उनकी पत्नी काब्या गुप्तापनि केही दिन अघि ५० ग्राम ब्राउन सुगर सहित भारतीय प्रहरीले पक्राउ गरेको थियो ।

भारतको पलिया आसपासको क्षेत्रबाट गुप्ता दम्पत्ती नेपालका लागि ब्राउन सुगरको कारोबार गर्दै आएका थिए । सीमावर्ती नेपालका युवाहरुलाई भारतको सीमा क्षेत्रमा बोलाउने र त्यहाँबाट नेपालमा ब्राउन सुगरको कारोबार हुदै गरेको भारतीय प्रहरीले जनाएको छ ।