धनगढी : कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने संघीय सांसद तारा लामा तामाङले प्रतिनिधिसभाको छैठौं अधिवेशनको शून्य समयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका नागरिकहरूको पीडा उजागर गरेका छन्।
सांसद तामाङले २०५८ सालमा आरक्ष विस्तारका कारण विस्थापित भएका परिवारहरू हालसम्म पनि उचित पुनःस्थापनाको पर्खाइमा रहेको उल्लेख गर्दै सरकारसँग तत्काल मानवीय दृष्टिकोणले समस्याको समाधान गर्न माग गरेका छन्। उनका अनुसार, सरकारले हालसम्म ३२ वटा आयोग गठन गरे पनि समस्या जस्ताको तस्तै रहेको छ।
“विस्थापित परिवारहरू कञ्चनपुरको ढक्का शिविरलगायत विभिन्न स्थानमा अत्यन्त कष्टकर जीवन बिताइरहेका छन्,” तामाङले सदनमा भने, “यिनको न्यूनतम आवश्यकताको समेत सुनिश्चितता नभएकोले तत्काल दीर्घकालीन समाधान खोज्न नेपाल सरकारसँग जोडदार अनुरोध गर्दछु।”
त्यस्तै, उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्र, विशेषगरी महाकाली, चौधर नदी तथा अन्य खोलाबाट विगत ३/४ वर्षदेखि नदीजन्य पदार्थ (बालुवा, गिट्टी आदि) ननिकाल्दा नदी सतह बढ्दै गएको र बाढीको जोखिम थपिएकोसमेत बताए। तामाङले जनजीवन र पर्यावरणीय सन्तुलन जोगाउन नदीजन्य पदार्थ यथासक्य निकाल्नुपर्ने आवश्यकता औंल्याए।
“नदीजन्य पदार्थ निष्कासनमा हुने ढिलाइले बाढी, कटान र अन्य प्राकृतिक जोखिम बढ्ने खतरा छ,” उनले भने।
सांसद तामाङले सरकारसँग यी दुबै विषयमा तत्काल ध्यान दिन आग्रह गर्दै समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न जोड दिए ।