Skip to main content

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको लगातार दोस्रो जीत

Submitted by editor on
ईबिगुल संवाददाता
सुदूरपश्चिमले लगातार दोस्रो जित

भैरहवा : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लगातार दोस्रो जित निकालेको छ । भैरहवाको सिद्धार्थनगरमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले हराएर दोस्रो जित निकालेको हो ।

सुदूरपश्चिमले दिएको २७८ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.२ ओभरमा १४३ रनमा अलआउट भयो । कर्णालीका लागि दिवान पुनले ३८ रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन ।

बलिङमा सुदुरपश्चिमका शेर मल्लले ४ विकेट, विकास आग्रीले २ विकेट र नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले समान १–१ विकेट लिए । त्यसअघि सुदूरपश्चिमले ५ विकेटको क्षतिमा २७७ रन बनाएको थियो । 

सुदूरपश्चिमका ओपनरद्वय खडक बोहरा र टेक रावत तथा किरण ठगुन्नाले अर्धशतक प्रहार गरे । बलिङमा कर्णालीका दिनेश अधिकारी, उनेश सिंह, प्रकाश जैसी र दिपेन्द्र रावतले १–१ विकेट लिए । 

आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले काशी प्रदेशलाई हराउँदै लगातार दोस्रो जित निकालेको छ । पुलिसले कोशी प्रदेशमाथि ७ विकेटको जित हात पारेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशीले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले २३ ओभर १ बलमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो ।