कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का स्थानीयलाई सहज खानेपानी उपलब्ध गराउन ५ करोडको लागतमा कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आएको छ ।
आयोजनाअन्तर्गत दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्की, दुईवटा डिपट्युबेल जडान, ५० किलोमिटर पाइप लाइन विस्तार गरिएको छ । उपभोक्तालाई २४ सै घण्टा पानी उपलब्ध गराउने व्यवस्था गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार दमाईले बताए । उनका अनुसार हालसम्म निजी पाँच सय ६५, सार्वजनिक तीनवटा धारा जडान गरिएको छ ।
८ कठ्ठा क्षेत्रमा पक्की पर्खालसहितको आयोजनाको कार्यालय भवन निर्माण गरिएको छ । यसका अतिरिक्त पानी प्रशोधनका लागि संयन्त्र निर्माण, भल्व च्याम्बर २७ वटा, मेन भल्व च्यामबर एक र पानी परीक्षण गर्ने मेसिन एक राखिएका छन् । आयोजनाको रेखदेख र सञ्चालनका लागि तीन जना कर्मचारीको व्यवस्था गरिएको छ । समितिले धारा जडानका लागि दुई हजार शुल्क लिने गरेको छ ।
पानीमो महसुलदर १० युनिटसम्म खपत गर्ने ग्राहकबाट एक सय शुल्क लिने गरिएको समितिका कोषाध्यक्ष टेकबहादुर भण्डारीले बताए । विद्युत् अभाव भएका बेला पानी निरन्तर उपलब्ध गराउन भने कठिनाइ हँुदै आएको उनले बताए । वडाको वर्तमान जनसङ्ख्या १५ हजार एक सय ३० छ । जसमा एक हजार सात सय परिवार रहेका छन् । सबै घरपरिवारमा खानेपानी पुगाउने लक्ष्यका साथ समितिले काम अगाडि बढाउँदै आएको जनाएको छ । आयोजना निर्माणकार्य २०६७ सालदेखि थालिएको थियो ।