कञ्चनपुर : डोटीको जोरायल गाउँपालिका–४ का करन थापा बेरोजगार छन् । कामको खोजीमा उनी भारत आउजाउ गर्छन् । भारतमा मजदुरी गरेरै उनले परिवारको खर्च जोहो गर्ने गरेका छन् । झोली झिम्टा बोकेर उनी परिवारसहित भारतको सिम्लातिर जाँदै गरेका भेटिए, गड्डाचौकी नाकामा। गाउँघरमा दसैँको चहलपहल सुरु हुनलाग्दा करन भने कामको खोजीमा भारत हानिनु परेको छ ।
‘यो रहर होइन, हाम्रो बाध्यता हो । परिवारसँगै गाउँमै दसैँ तिहार मनाउने मन कसलाई हुँदैन ?,’ उनी भन्छन्, ‘गाउँ घरमा काम पाइँदैन । भारतमै मजदुरी गरेर परिवारको गर्जो टार्नु परेको छ ।’ उनकी श्रीमती, भाइ र बुहारी पनि काम खोज्न भारततिर गइरहेका छन् । सिम्लामा स्याउ टिप्ने काम गर्ने उनले बताए । ‘अगाडि पनि सिम्लामा स्याउ टिप्ने काम गरेको हो । बेरोजगार, आर्थिक अवस्था कमजोर हुने हाम्रो लागि के चाडबाड, काम नगरे खान पाइँदैन,’ करनले भने, ‘तिहारपछि खर्च जोहो गरेर फर्किने सोच छ ।’
करन मात्रै होइन, उनीसँग गाउँकै अन्य २५ जना पनि छन् । जोरायलबाटै उनीहरू गाडी भाडामा लिएर भारत जान गड्डाचौकी नाकामा पुगेका हुन् ।
दसैँतिहारमा विद्यालय बन्द रहने भएकाले ससाना बालबालिकालाई पनि बोकेर उनीहरू भारततिर हानिन लागेका छन् । जोरायलकै मिनादेवी थापा र उनका श्रीमान दलबहादुर पनि छोरालाई साथमा लिएर सिम्ला जानेको हुलमा छन् ।
उनीहरू पहिलो पटक त्यतातिर जान लागेका हुन् । सिम्लामा स्याउ टिप्ने काम पाइने गरेको सुनेका छन् । तर निश्चित छैन । मजदुरीमा जे काम पायो त्यही गर्ने सोच बनाएका छन्, उनीहरूले । ‘भारतमा मजदुरी पाइहालिन्छ । स्याउ टिप्नेदेखि निर्माण जुनसुकैमा पायो त्यसमै काम गर्ने हो,’ मिनादेवीले भनिन्, ‘यसपटकको चाडबाड भारतमै हुन्छ । तिहारपछि विद्यालय पनि खुल्छ । केही घरखर्च जोहो गरेर फर्किन्छौँ ।’
चाडबाडको बेला गाउँ छोडेर भारत जानुपर्दा बलबहादुर मगरको मन खिन्न छ । तर गाउँमै बसेर जीविकोपार्जन गर्ने अवस्थामा पनि छैन । त्यसैले बलबहादुर र उनकी श्रीमती पनि सिम्ला जाने तयारीमा छन् । उनको ६ जनाको परिवार छ । बलबहादु पहिलो पटक सिम्ला जान लागेका हुन् ।
‘आर्थिक कमजोरी भयो । पैसा नभए के दसैँ मनाउनु ? थोरै कमाएर दसैँ तिहार मनाउनुपर्छ । त्यहीले खानु पर्छ,’ उनले भने, ‘पढेलेखेका पनि छैनौँ । गाउँमा काम नपाएर जीविकोपार्जन गर्न मुश्किल प-यो ।’
स्वदेशमै रोजगारी भए चाडबाडको मुखमै काम गर्न भारत जानु नपर्ने उनीहरू बताउँछन् । जेनजी आन्दोलनका क्रममा नेपाल भारत सीमामा आवागमनमा कडाइ गरेपनि अहिले आवतजावत सहज भइसकेको छ । चाडबाडको मुखैमा भारत जाने नाकामा भीडभाड छ ।
कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाका भएर दैनिक सयौँको संख्यामा रोजगारीको खोजीमा भारत गइरहेका छन् ।