Skip to main content

छाउपडी विरुद्ध अछामका किशोरी, सडकमा लागे यस्ता नारा

Submitted by editor on
ईबिगुल संवाददाता
छाउपडी

अछाम :  छाउपडी कुप्रथाविरुद्ध अछामको मंगलसेनका किशोरीले र्‍याली निकालेका छन् । महिला मार्न पाइँदैन, छाउपडी गोठ चाहिँदैन, महिनावारीमा बहिष्कार होइन, सम्मान देउ, कानुनको कार्यान्वयन गर, छाउपडी कुप्रथाको अन्त्य गरौं, महिला अधिकारको सम्मान गरौंलगायतका नारासहित मंगलसेनस्थित शोडषा माविमा अध्ययनरत र अन्य किशोरीले मंगलबार विरोध र्‍याली निकालेका हुन् ।

छाउपडी कुप्रथाविरुद्ध कानुन बनिसक्दा पनि कार्यान्वयन नगरेको, जनप्रतिनिधिले बेवास्ता गरेको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारीको  नाकर्षणसमेत गराएका थिए । भदौ १३ गते राति अछामको पञ्चदेवल बिनायक नगरपालिका— ८ मा महिनावारीको समयमा छाउ बार्न त्रिपाल टाँगेर बसेकी एक महिला र एक बालिकाको ढुंगा लागेर मृत्यु भएको थियो ।

महिनावारी भएको समयमा छाउ बार्न घर बाहिर जानु पर्ने बाध्यताका कारण हरेक वर्ष घटना हुने गरे तापनि सरोकारवाको वास्ता नभएको किशोरीहरु बताउँछन् । ‘छाउगोठमा मृत्यु हुने , त्रिपालमा बसेर मृत्यु हुने बलात्कारका घटना हुँदा पनि सरोकारवाला मौन बसेका छन्,’ र्‍यालीमा सहभागी मंगलसेन नगरपालिका—३ दयकी १६ वर्षीया यशोदा कुवँरले भनिन्, ‘महिनावारी हुन थालेको ३ वर्ष भयो । तीन वर्षदेखि नै छाउगोठमा बस्दै आएकी छु । मेरो गाउँमा एक घर एक छाउगोठ छन् ।’ एक्लैले छाउगोठ बस्नु हुँदैन भनेर आवाज उठाउँदा परिवारले समेत एक्लो पार्ने भएकाले जनप्रतिनिनिधि, प्रहरी, प्रशासनले कानुन कार्यान्वयन गर्नुपर्ने र त्यसमा आफूहरुले साथ दिने उनले बताइन् ।

विरोध र्‍यालीमा आएकी मंगलसेन नगरपालिका— ५ भाटवाडाकी १६ वर्षीया ईश्वरी भाटले आफू पनि छाउगोठमा बसिरहेको बताइन् । ‘हाम्रो पीडाको महसुस परिवारले कहिल्यै गरेन । सदरमुकामकै वडा भएर पनि छाउगोठको बिगबिगी उस्तै छ,’ उनले भनिन्, ‘केही दिनअघि मात्रै छाउ बार्न बसेकै कारण दुई जनाको मृत्यु हुँदा पनि कोही बोल्दैनन् । कोही नबोले हामी बोल्छौं भनेर प्रशासन कार्यालयसम्म विरोध र्‍याली निकालेका हौं ।’

मंगलसेन नगरपालिका—३ दयकी यशोदा नेपालीले पनि आफू पनि छाउगोठमा बस्नु परेको र परिवारका मान्छेले घरमा बस्नै नदिने गरेको बताइन् । विरोध र्‍याली निकालेर मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेका किशोरीलाई प्रमुख जिल्ला अधिकारी आनन्द सारुले कानुन कार्यान्वयनमा चरणबद्धरुपमा लाग्ने बताए । 
अहिले प्रहरी प्रशासनको सहकार्यमा जिल्लाभर छाउगोठ भत्काउने अभियान सुरु भएको उनले बताए । जिल्ला प्रहरी कार्यालयमा अनुसार शुक्रबारबाट सुरु भएको छाउगोठ भत्काउने अभियानअन्तर्गत सोमबारसम्म १ सय १३ वटा छाउगोठ भत्काइएका छन् ।