Skip to main content

हराउँदै गएका मौलिक कला-संस्कृति स्थानीय सरकारको पहलमा पुनः जीवित

Submitted by editor on
ईबिगुल संवाददाता
घोडाघोडी नगरपालिका

कैलाली : आधुनिकताको प्रभावसँगै हराउँदै गएका मौलिक कला–संस्कृतिलाई जगेर्ना गर्न सुदूरपश्चिमका स्थानीय तह सक्रिय बन्दै गएका छन् । विभिन्न पालिकाले मौलिक चाडपर्वसँग जोडिएका पन्चैबाजा, नाच–गान र धार्मिक परम्परालाई पुनर्जीवित गर्न रकम छुट्याएर संरक्षण अभियान थालेका हुन् ।

घोडाघोडी नगरपालिकाले गौरा पर्वको अवसरमा पन्चैबाजा संरक्षण समितिलाई दमाहा, झ्याली, ट्याम्को, हुड्का, नरसिंहा, सनईलगायत बाजासहित १६ थान पोसाक हस्तान्तरण गरेको छ । नगरप्रमुख खडकबहादुर रावतका अनुसार समुदायको मागअनुसार पालिकाले सहयोग गरेको हो ।

पन्चैबाजा संरक्षण समितिका प्रकाश नेपालीले बाउबाजेले बजाउँदै आएको परम्परागत बाजा पुनः निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै विवाह तथा धार्मिक कार्यमा यसलाई सुरक्षितसाथ प्रयोग गरिने बताए ।

घोडाघोडी नगरपालिकाले हरेक वर्ष मौलिक पर्व तथा धार्मिक मेलामहोत्सवका लागि १५ लाख रुपैयाँ खर्च गर्ने गरेको छ भने गौरीगङ्गा नगरपालिकाले पन्चैबाजा सिकाउने तालिमसमेत सञ्चालन गरेको छ । नगरप्रमुख देवीदत्त कँडेलका अनुसार यस पहलपछि नयाँ पुस्ता पनि परम्परागत बाजामा आकर्षित हुन थालेका छन् ।

यसैगरी, बर्दगोरिया गाउँपालिकाले तिज, गौरा र गणेश चौथी पर्वमा सहयोग गरेको छ भने लम्कीचुहा नगरपालिकाले थारू समुदायको मुङ्ग्रहवा, छलिया र भुवा नाचका लागि सामग्री उपलब्ध गराएको छ ।

विशेषज्ञहरूका भनाइमा स्थानीय तहको सहयोगले हराउँदै गएका मौलिक कला–संस्कृति फेरि समाजमा प्रस्तुत हुन थालेका छन् र यसले सांस्कृतिक पहिचान जोगाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ ।