Skip to main content

धनगढीको माया मेट्रो हस्पिटल ग-यो २३ जनाको निःशुल्क कानको जालीको अप्रेशन

Submitted by editor on
ईबिगुल संवाददाता
mayametro

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले २३ जनाको निःशुल्क कानको जालीको अप्रेशन गरेको छ  । अस्पतालको वार्षीकत्सवको अवसरमा भाद्र ५ गतेदेखि १५ गतेसम्म सुरु भएको शिविरबाट २३ जनाको कानको जालीको अप्रेशन गरेको अस्पतालका नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. डिआर कँडेलले जानकारी दिए । 

डा. कँडेलका अनुसार १ सय ८७ जनाले उक्त शिविरमा सहभागी जनाए पनि धेरै बिरामीहरूको कान पाकेको, पिप जमेको, कान सुख्खा नभएका कारण अप्रेशन गर्न नसकेता पनि २३ जनाको भने पूर्ण रुपमा अप्रेशन गरेको बताए ।

आर्थिक अभावले कानको जाली फेर्न नसेका बिरामीलाई उक्त शिविर निकै लाभदायी भएको सहभागी बिरामीहरूले बताएका थिए । उक्त शिविरमा १८ वर्ष भन्दा माथि र ५० वर्ष भन्दा तलका बिरामीले सेवा लिएका थिए । 

सो शिविरमा अप्रेशन हुन नसेका बिरामीले अप्रेशन गर्न चाहेमा २५ प्रतिशत छुटको व्यवस्था समेत रहेको अस्पतालले जनाएको छ । जसका लागि सो शिविरमा सहभागी भएका बिरामीले ओपिडी पुर्जा साथमा ल्याई आउनु पर्नेछ । माया मेट्रो हस्पिटलले सामाजिक समय समयमा यस प्रकारका शिविरको आयोजान गर्दै आएको छ ।