Skip to main content

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको लगातार तेस्रो जीत

Submitted by editor on
सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा
ईबिगुल संवाददाता
सुदूरपश्चिम


भैरहवा : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा  सुदूरपश्चिमले लगातार तेस्रो खेल जितेपछि उ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्यस क्रममा सुदूरपश्चिमले आज शेर मल्लको ५ विकेटको सहयोगमा गण्डकी प्रदेशमाथि १०८ रनको फराकिलो जित हात पारेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट एकेडेमीमा जितका लागि २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमा अलआउट भयो । गण्डकीका लागि अश्वानी रानाले सर्वाधिक २५ रन बनाए । कमल परियारले २२ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ५ विकेट लिए । ८.२ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै २३ रन दिएर ५ विकेट लिएका थिए । यस्तै गजेन्द्र बोहराले २ र भोजराज भट्ट, नरेन साउद र मिलन बोहराले समान १÷१ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ५० ओभरमा अल आउट हुँदै २०१ रन बनाएको थियो । उसका लागि किरण ठगुन्नाले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले । उनले ७३ बलमा ५ चौका प्रहार गरे । ओपनर टेक रावतले १५ रन, कप्तान राजु रिजालले १९, नारायण जोशीले ४६ र नरेन साउदले १३ रन बनाए ।

गण्डकीका लागि कप्तान विपिन खत्री र अंकित न्यौपानेले समान ३÷३ विकेट लिए । कमल परियार र अमृत गुरुङले २÷२ विकेट लिए । यसअघि सुदुरपश्चिमले कर्णाली र लुम्बिनी प्रदेशलाई पराजित गरिसकेको छ ।