Skip to main content

यस्तो छ सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनको तयारी (तस्बिरहरु)

Submitted by editor on
सुदूरपश्चिम प्रदेश सभा भवनमा २ वटा मतदान केन्द्र राखेर तयारी गरिएको छ । ‘क’ निर्वाचन क्षेत्रमा प्रदेश सभा सदस्य र ‘ख’ निर्वाचन क्षेत्रमा स्थानीय तहका प्रमुख उपप्रमुखका लागि मतदान केन्द्र तय गरिएको छ ।
ईबिगुल संवाददाता
राष्ट्रिय सभा

धनगढी : भोली अथवा माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । प्रदेश निर्वाचन अधिकारी प्रेमदत्त भट्टले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । 

सुदूरपश्चिममा राष्ट्रिय सभाका ३ सांसदका लागि चुनाव हुन लागेको हो । अन्य, अपांग र महिला कोटाका राष्ट्रिय सभा सदस्यको पदावधी सकिएपछि यो निर्वाचन हुन लागेको हो । 

सुदूरपश्चिम प्रदेश सभा भवनमा २ वटा मतदान केन्द्र राखेर तयारी गरिएको छ । ‘क’ निर्वाचन क्षेत्रमा प्रदेश सभा सदस्य र ‘ख’ निर्वाचन क्षेत्रमा स्थानीय तहका प्रमुख उपप्रमुखका लागि मतदान केन्द्र तय गरिएको छ । विहान ९ बजेदेखि मतदान सुरु हुने र बेलुकी ३ बजे सकिने बताईएको छ ।

निर्वाचन कार्यालयले भोली नै मतगणना गरेर भोली नै विजेता उमेदवारलाई प्रमाणपत्र दिने कार्यक्रम तय गरेको छ । सुदूरपश्चिममा ५२ प्रदेश सभा सदस्य र १७६ स्थानीय तहका प्रमुख उपप्रमुख गरी २२८ मतदाता रहेका छन । प्रदेश सभा सदस्यका मतभार ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ रहेको छ ।

मतदानमा भाग लिन प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरु धनगढी केन्द्रित भईसकेको छन । सुदूरपश्चिममा गठबन्धनबाट नेपाली काँग्रेसका नारायण दत्त भट्ट, बल्देव बोहरा र नेकपा माओवादी केन्द्रकी रेणु चन्द उमेदवार छन भने नेकपा एमाले एक्लै चुनावी मैदानमा छ । नेकपा एमालेबाट ईश्वरी खरेल, रामचन्द्र जोशी र सावित्रि घिमिरे उमेदवार बनेका छन ।