Skip to main content

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको चौथो जीत

Submitted by editor on
ईबिगुल संवाददाता
सुदूरपश्चिम

धनगढी : प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशमाथि ८ विकेटको सजिलो जित हासिल गरेको छ ।

जारी प्रतियोगितामा हालसम्म आठ खेल खेलेको कोशी प्रदेशले एक खेल पनि जित्न सकेको छैन । लगातारको हारसँगै कोशी प्रदेश यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । पाँचौँ खेल खेलेको सुदूरपश्चिम प्रदेशको भने यो चौथो जित हो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको कोशी प्रदेशले ३२ ओभरमै अलआउट हुनुअघि एक सय २३ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले भने २१.१ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।

सुदूरपश्चिम प्रदेशका लागि नरेश भट्टले अर्धशतकीय पाली खेले । उनले अविजित ५४ रन बनाए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ४९ बलको सामना गरी सात चौका पनि हिर्काए । प्रकाश पाण्डेले पनि टोलीका लागि अविजित ३४ रनको योगदान गरे । प्रकाशले ४२ बलमा एक चौका पनि हिर्काए ।

ओपनर राजु रिजालले २१ रन बनाए । कप्तानसमेत रहेका राजुले २३ बलमा तीन चौका हिर्काए । अर्का ओपनर खड्क बोहराले पनि टोलीको खातामा नौ रन थपे । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि ६ रन पायो । कोशीका बलर फिरदोष अन्सारीले दुई विकेट लिए ।