Skip to main content

रोमाञ्चक खेलमा नेपाल यु–१९ विश्वकपको सुपर सिक्स प्रवेश

Submitted by editor on
ऐजन्सीहरुको सहयोगमा
नेपाल यु–१९ विश्वकपको सुपर सिक्समा प्रवेश

धनगढी : रोमाञ्चक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल यु–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ । दक्षिण अफ्रिकामा शुक्रबार भएको खेलमा अफगानिस्तानले दिएको लक्ष्य ४४.४ ओभरमा पूरा गर्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो । 

नेपाललाई सुपर सिक्समा प्रवेश गराउँदै कप्तान देव खनालले अर्धशतक प्रहार गरे । ८९ बल खेलेका खनाल ७ चौकासहित ५८ रन बनाए । त्यस्तै सुवास भण्डारी ९ रनमा अविजित रहे ।

नेपालको सुरुवात भने खराब रह्यो । ओपनर अर्जुन कुमाल १० रन र विपिन रावल २ रनमै पेभेलियन फर्किएका थिए । राष्ट्रिय टिमबाट समेत खेल्दै आएका अलराउन्डर गुल्शन झा १ रनमै आउट भएपछि नेपाल संकटको स्थितिमा पुगेको थियो । 

कप्तान खनाल अन्तिमसम्म टिकेर खेल्दा आकाश त्रिपाठी १६ रन, दीपक डुम्रेले ५ र दीपेश कँडेलले ४ रन बनाएर आउट भए । त्यस्तै दीपक बोहोरा ४ चौकासहित २७ रन बनाएर पेभेलियन फर्किएका थिए भने आकाश चन्द १ रनमै आउट भए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान १४५ रनमा अलआउट भएको थियो । आकाश चन्दले ५ विकेट लिएपछि ४०.१ ओभर खेलेको अफगानिस्तान सस्तैमा आउट भएको थियो ।

अफगानिस्तानका लागि एम घजनफारले सर्वाधिक ३७ रन बनाए भने कप्तान नसिर खानले ३१, फरिदुन दाउदजाईले २९ र हसन इसखिलले २० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

त्यस्तै दीपेश कँडेलले २ र गुल्शन झा, सुवास भण्डँरी र तिलक भण्डारीले एक–एक विकेट लिए ।