Skip to main content

कृष्णपुरका श्याम देउवा मृत्यु प्रकरण : प्रदेश प्रहरीको टोलीद्वारा अनुसन्धान सुरु

Submitted by editor on
अपराध अनुसन्धानको मात्रै जिम्मेवारी पाएको र संघ सरकार मातहत रहेको नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी निरीक्षक नरपति भट्टको नेतृत्वमा अनुसन्धान टोली खटाएको हो ।
शिवराज भट्ट
श्याम

धनगढी : अत्तरियाको सौगात दोहोरी साँझमा झगडा भएपछि मृत अवस्थामा भेटिएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणमा नेपाल प्रहरी प्रदेश कार्यालयले पनि अनुसन्धान थालेको छ । 

अपराध अनुसन्धानको मात्रै जिम्मेवारी पाएको र संघ सरकार मातहत रहेको नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी निरीक्षक नरपति भट्टको नेतृत्वमा अनुसन्धान टोली खटाएको हो । 

‘हामीले प्रहरी निरिक्षक नरपती भट्टको नेतृत्वमा टोली परिचालित गरेका छौं । अनुसन्धानको धेरै पाटो हेरिएको छ । पक्राउ परेका ६ जनाकै पोलीग्राफ परिक्षण पनि भईसकेको छ’ नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक दिलिप सिह देउवाले भने । ‘धेरै कुरा खुल्दै गएको छ ।’

यसअघि ईलाका प्रहरी कार्यालय मालाखेतीले प्रहरी निरिक्षक रविन्द्र कठायतको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ भने जिल्ला प्रहरी कार्यालय कैलालीले पनि प्रहरी निरिक्षक उपेन्द्र बमको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरेको छ । 

‘ईलाका प्रहरी कार्यालय मालाखेतीको टोली र जिल्लाको टोलीलाई हाम्रो टोलीले प्राविधिक सहयोग गर्छ’ प्रहरी वरिष्ठ उपरिक्षक देउवाले भने । 
पुस २५ गते कैलालीको अत्तरियामा रहेको सौगात दोहोरी साँझमा लफडापछि राति घर जाने भनेर निस्किएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवा पुस २६ गते घाईते अवस्थामा फेला परेका थिए । उनको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा पुस २६ गते नै मृत्यु भएको थियो ।

शरिरभरी घाउ भएको अवस्थामा घाईते फेला परेका देउवाको मृत्यु भएपछि आफन्तहरुले ६ जनाका विरुद्ध किटानी जाहेरी दिएका थिए । आफन्तको जाहेरीका आधारमा प्रहरीले कृष्णपुर नगरपालिका वडा नम्बर ४ का टेक बहादुर नायक, वडा नम्बर ९ का राम बहादुर ऐर, गोदावरी नगरपालिका वडा नम्बर १ का विनोद शाह, वडा नम्बर १ कै उमेश बढैला, यज्ञ विक र गोदावरी ६ का प्रकाश ओलीलाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।

दोहोरी साँझको सिसि क्यामेराको फुटेज नियन्त्रणमा लिएपनि त्यहाँ सामान्य भनाभन बाहेक नदेखिएपछि घटना झनझन रहस्यमयी बन्दै गएको छ ।