Skip to main content

सुदूरपश्चिम पुर्वाधार विकास मन्त्रालय, निमित्त सचिव र लेखा बाहेक पुरै खाली

Submitted by editor on
शिवराज भट्ट
भौतिक पुर्वाधार विकास मन्त्रालय

धनगढी : प्रदेशका मन्त्रालयहरुको अवस्था दयनीय देखिएको छ । सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयका अधिकांस महाशाखा र शाखाहरु खाली देखिएपछि शुक्रबार ईविगुलको टोली सुदूरपश्चिमको सबैभन्दा प्रभावशाली देखिएको भौतिक पुर्वाधार विकास मन्त्रालयमा पुगेको छ । 

उक्त मन्त्रालयमा भौतिक पुर्वधार मन्त्री, सचिव र ५ वटा महाशाखाका कुर्सीहरु खाली भेटिए । मन्त्री बाहिर भएपछि उनको स्ववीय सचिवालयले काम गर्नुपर्नेमा त्यसमा पनि कर्मचारी थिएनन ।

सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरुमा कर्मचारी नभेटिने गरेपछि सेवाग्राहीहरुले जानै छोडेका छन । मन्त्री र राज्यमन्त्रीहरुमा आसेपासे, कार्यकर्ता र योजनाहरुमा पहुँच भएका बाहेक आफ्नो गुनासो गर्न जाने सर्वसाधारणहरु भने मन्त्रालयका कर्मचारी नै नभेटिने गरेपछि जान छोडेका हुन । 

मन्त्रालयका सचिव सुरत कुमार बम विहीबार काण्माण्डौं गएका छन । उनी आईतबार मात्रै आउने निमित्त सचिव मोहन बहादुर कुवरले बताए । कार्यालयमा निमित्त सचिव कुवर र लेखा शाखा बाहेकका एक शाखामा पनि कर्मचारी भेटिएनन । 

‘सचिव ज्यु विहीबार जानु भएको हो, आईतबार मात्रै आउनु हुन्छ । ६ वटा उपसचिवको दरबन्दीमा म एक जना मात्रै उपसचिव हुँ । कर्मचारीको अभाव छ’ निमित्त सचिव कुवरले भने । 

उनले शाखाहरुमा पनि कर्मचारी अभाव रहेको बताए । ‘शाखाहरुमा पनि कर्मचारी छैनन’ उनले भने । पुर्वाधार विकास मन्त्रालय प्रदेशका सबै मन्त्रालय भन्दा बढी बजेट हुने मन्त्रालय हो । 

पुर्वाधार विकास मन्त्रालय प्राविधिक मन्त्रालय पनि हो । मन्त्रालयका महाशाखा, शाखाका प्राविधिक कर्मचारी पनि भेटिएनन । जिल्लाका कार्यालयहरुमा उहिले प्रमुख जिल्ला अधिकारीको छड्के हुन्थ्यो । 

कर्मचारी छड्केमा परेका समाचारहरु आउथे । तर प्रदेशका मन्त्रालयहरुमा आफै मन्त्रीहरु बस्छन, सचिवहरु हुन्छन, तर त्यहाँको लथालिंग अवस्थाबारे कसले छडेके गरिदिने ?