Skip to main content

बाजुरामा चारदलका चार उमेदवार, एमाले काँग्रेसबीच नै मुख्य प्रतिष्पर्धा

Submitted by editor on
ईबिगुल संवाददाता
चार दलीय प्रतिस्पर्धा हुने

बाजुरा : स्वामिकार्तिक खापर गाउँपालिकामा चार दलीय प्रतिस्पर्धा हुने भएको छ । यस अघि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो उम्मेदवार तय गरिसकेका थिए । नेकपा एकीकृत समाजवादीले पनि ढिलोगरि उम्मेदवार तय गरेसँगै उपनिर्वाचनमा चार दलीय प्रतिस्पर्धा हुन लागेको हो ।

समाजवादीले जवा शाहीलाई आफ्नो उम्मेदवारको रुपमा अघि सारेको छ । नेपाली काँग्रेसले पुलतीसरा शाही, नेकपा एमालेले सुलोचना कुमारी भण्डारी र माओवादी केन्द्रले राजु कुमारी विकलाई उम्मेदवार बनाएको छ ।

काँग्रेस, माओवादी र समाजवादी मिलेर नै चुनाव लड्ने योजना बनाएका थिए । यी तीन दलले वार्ता समिति समेत गठन गरेका थिए । माओवादीले केन्द्रीय सचिवालयको निर्णय अनुसार समाजवादी मोर्चामा मात्रै सहकार्य गर्ने भन्दै आफ्नो उम्मेदवार घोषणा गरेको थियो ।

माओवादीले उम्मेदवार घोषणा गरेको केहीदिन पछि नेकपा एकीकृत समाजवादीले उम्मेदवार सार्वजनिक गरेको हो । गाउँपालिकामा मङ्सिर १६ गते हुने उपनिर्वाचन हुन लागेको छ ।

चार वटै राजनीतिक दलहरू बिच प्रतिस्पर्धा हुने भएपनि उपाध्यक्ष पदका लागि नेपाली काँग्रेस र नेकपा एमालेबीच नै ठक्कर हुने देखिएको छ ।
२०७९ को निर्वाचनमा एमाले काँग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार विजयी भएका थिए । उपाध्यक्षमा मैना जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी नेकपा एमालेकी सुलोचना भण्डारीले एक हजार ६३७ ल्याएकी थिईन ।

त्यस्तै माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत ल्याएका थिए । माओवादीले अध्यक्षमा नेकपा एकीकृत समाजवादीलाई र उपाध्यक्षमा नेकपा एकीकृत साजवादीले माओवादीलाई साथ दिएको थियो ।

स्वामीकार्तिकमा ७ हजार ४ सय ६० मतदाताले मतदानमा भाग लिन पाउने छन् । ती मध्ये सबैभन्दा बढी २ हजार १० मत ३ नम्बर वडा जुकोटमा छन् । जुकोटबाट समाजवादी र काँग्रेसले उम्मेदवार बनाएको छ भने नेकपा एमाले र माओवादीले साप्पाटा क्षेत्रबाट उम्मेदवार बनाएको छ ।

यता राप्रपाले पनि उम्मेदवार बनाउने घोषणा गरेपनि अझै नाम सार्वजनिक गरेको छैन् । रास्वपाले भने आफ्नो उम्मेदवार नै पाएको छैन । स्वामिकार्तिकमा मैनादेवी जैसीको निधन पछि मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।