धनगढी : उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निर्यातमुखी उद्योगलाई सरकारले प्राथमिकता दिने बताएका छन । नेपालगञ्ज उप–महानगरपालिका –१८ मा रहेको स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको शनिबार उद्घाटन गर्दै मन्त्री भण्डारीले निर्यातमुखी उद्योग तथा कलकारखानालाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरे ।
‘अहिलेको अवस्थामा युवाहरु मिलेर स्वदेशमै आवश्यक सामग्री उत्पादन गरी त्यसलाई बाहिरी देशमा समेत निर्यातको योजना बनाएर काम गर्नु आफैमा सकारात्मक छ’ मन्त्री भण्डारीले भने ।
उनले उद्योगबाट लुम्विनी प्रदेशमा मात्र नभएर नेपालभरी तथा भारतसम्म पनि उत्पादित सामग्रीको बजारीकरण गर्न सक्ने बिश्वास ब्यक्त गरे । प्रालिका अध्यक्ष कमल कार्कीले करिब ६५ करोडको लागतमा एचडिपिइ, सिपिभिसी, युपिभिसी, बोरवेल तथा गार्डेन पाइप तथा फिटिङको उत्पादन गर्दै आइरहेको जानकारी दिए ।
‘अहिले बजारमा आर्थिक मन्दी भए पनि स्टार पोलीपाइपबाट अत्याधुनिक उपकरणबाट गुणस्तरीय सामग्रीको उत्पादन गरिरहेका छौं’ कार्कीले भने । कम्पनीले जापान तथा दक्षिण कोरियामा उत्पादित उत्कृष्ट कच्चा पदार्थबाट सिपिसिभी, युपिभिसी पाइप तथा फिटिङहरु उत्पादन गर्दै आइरहेको कम्पनीका बिक्री प्रमुख दिनेशराज विष्टले जानकारी दिए ।
यसैबीच नेपाल उद्योग बाणिजय सङ्घको ३२ औं र ३३ औं बार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै मन्त्री भण्डारीले सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न खोजेको बताए ।