Skip to main content

फुटेका हाँडीका टुक्रा जोडेर बनाएको गठबन्धनले देश अगाडि बढदैन : ओली

Submitted by editor on
सुखडमा एमाले कैलालीको अधिवेशन सम्बोधन, बर्दगोरीया गाउपालिकाको भवन उद्घाटन
शिवराज भट्ट
केपी शर्मा ओली

सुखड (कैलाली) : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटेका हाँडीका टुक्राहरु जोडेर झैं बनाएको गठबन्धनले देश अगाडी बढन नसक्ने बताएका छन । कैलालीको सुखडमा नेकपा एमाले कैलालीको नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन ।

‘फुटेका हाँडीका टुक्राहरु जस्तै विभिन्न जोडजाम गरेर बनेको गठबन्धनले देश अगाडि बढदैन’ ओलीले भने । ‘त्यो यतै चुडिन्छ त्यतै चुडिन्छ ।’ उनले आफ्नो कार्यकालमा सुरुवात भएका धेरै योजनाहरु अहिलेको सरकारले अगाडि बढाउन नचाहेको बताए ।

‘एकै पटक ७ सय भन्दा अस्पतालहरुको सिलान्यास गरिएको थियो । त्यो मैले गरेको थिए । मैलै एक पटक ढाई सय भन्दा बढी सडकहरुको एकै दिन सिलान्यास गरेको थिए । तर अहिले ती योजनाहरुमा बजेट नहालेर अलपत्र पारिएका छन’ ओलीले भने ।    

उनले, बर्तमान सरकार कुनै देखिन लायकको योजना बनाउन नसक्ने बताए । ‘अहिलको सरकारले कुनै नयाँ योजना बनाएको छैन । तीन वर्षमा विकास कस्तो हुन्छ, हामीले देखाई दिएका थियौं, विदेश जानेको संख्या १२ प्रतिसतले कम भएको थियो । देशमै केही गर्न सकिन्छ भन्ने भावनाको विकास हुदै थियो, तर अहिले विदेश जानेको लर्को लागेको छ । हामीले बनाएका नमूना कामहरुमा खोट लगाएर बहाना बनाईदैछ’ उनले भने । ‘घर बनाउन नसक्ने ? बनाएको घरमा झ्याल मिलेन, ढोका मिलेन, चुक्कुल मिलेन, बार्दली मिलेन भनेर बहाना बनाउने ? यो सरकारको असक्षमता हो ।’

ओलीले नेकपा एमाले राष्ट्रिय शक्ति भएको र राष्ट्रिय शक्तिले देश चलाउन नपाएका कारण अहिले यस्तो अवस्था आएको बताए । ‘देश राष्ट्रिय शक्तिले चलाउन पाउनु पथ्र्यो तर टुटेका हाँडीका टुक्राहरु जोडेर देश चलाउन थाल्यो भने अवस्था के होला ? जनताले आफै देखिरहेका छन’ उनले भने ।

उनले कैलालीको जिल्ला अधिवेशनमा आफ्नो कुनै पनि उमेदवार नभएको बताए । ‘मेरो कुनै पनि उमेदवार छैन । सबै उमेदवार मेरा हुन । सकेसम्म सहमति गर्नुहोस, हुदैन भने लोकतान्त्रिक पद्दतीमा जानुस । अधिवेशन लम्ब्याउने होईन, आजै राती हुन्छ सक्नोस, हुदैन भने भोली सबै सक्नुस’ ओलीले भने । 

उनले कैलालीमा अबको मीशन ८४ मा प्रतिनिधि सभाका ५ र प्रदेश सभाका सबै १० सीट नेकपा एमालेलाई सिताउने प्रतिनिधि आउनुपर्ने बताए । उनले मीशन ८४ चुनाव देखि चुनाव सम्म लागि मात्र नभएर जनताको जीवनमा परिवर्तन ल्याउनका लागि भएको बताए । 

नेकपा एमाले कैलाली जिल्लाका कार्यबाहक अध्यक्ष दुुर्गा प्रसाद जोशीको अध्यक्षतामा भएको उद्घाटन शत्रमा नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश ईञ्चार्ज लेखराज भट्टले पनि मन्तब्य ब्यक्त गरेका थिए । 

यसअघि एमाले अध्यक्ष  ओलीले कैलालीको बर्दगोरिया गाउपालिकाकाको नवनिर्मित भवनको उद्घाटन गरेका थिए । झण्डे ९ करोडको लगानीमा बर्दगोरिया गाउपालिकाले सुदूरपश्चिम पहिलो लिफ्ट  भएको गाउपालिकाको भवन बनाएको छ ।