Skip to main content

भासुुभीर नजिकै द्वन्दकालीन धराप विष्फोट हुँदा सडक खनिरहेका चारजना घाईते

Submitted by editor on
ईबिगुल संवाददाता
विद्युतीय धराप विष्फोट



धनगढी : भीमदत्त राजमार्गको भासु भीर नजीकै सडक खन्ने क्रममा विद्युतीय धराप विष्फोट भएर चार जना घाईते भएका छन । 

चुरे गाउँपालिका ३ मा पर्ने भासुभीर देखि झण्डै २ किलोमिटर सहजपुरतिर बाटो खन्ने क्रममा बुधवार साँझ विद्युतीय धराप  बिष्फोट हुँदा जेसिबी चालक डडेल्धुराको आलिताल गाँउपालिका ८ का २४ वर्षीय विकास थापा,  कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीन देव अवस्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले  बताए ।

जेसीवी चालक  थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ भने अन्य तीन जना घाईतेको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

बसन्त खडायतको टाउको र अनुहारमा चोट  लागेको छ भने रोलर अप्रेटर २२ वर्षीय हिरा थापाको टाउको र अनुहारमा चोट लागेको छ । भीमदत्त राजमार्ग अन्तर्गत पर्ने भासुभीर नजिकै भएको विष्फोट द्वन्दकालीन समयमा राखिएको विद्युतीय धराप (एम्बुस) हुनसक्ने प्रहरीले जनाएको छ । 

सडक चौडा पार्नेक्रममा भीमदत्त पन्त राजमार्गमा अहिले मोड कटिङको कार्य चलिरहेको छ । जेसिबीले सडक खन्ने क्रममा अचानक एम्बुस बिष्फोट भएको घाईतेहरुले जनाएका छन । 

द्वन्दकालमा उक्त क्षेत्रमा तत्कालिन बिद्रोही र नेपाली सेनाबीच लडाई भएको थियो । नेपाली सेनाको टोलीले घटनाको अवलोकन गरेको छ ।