Skip to main content

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीको दाबी, आज मन्त्री नपठाउने

Submitted by editor on
ईबिगुल संवाददाता
रेशमलाल चौधरी

काठमाण्डौं : नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष रेशमलाल चौधरीले नयाँ बनेको गठबन्धनप्रति आफ्नो पार्टी सकारात्मक भएको बताएका छन् । बालुवाटारमा नयाँ गठबन्धनको बैठकका बीच बाहिर निस्किएका चौधरीले विगतमा धोका खाएकाले पहिले सहमति गरेरै मात्रै सरकारमा सामेल हुने बताए ।

उनले पत्रकारसँग भने, ‘हामी नयाँ बनेको गठबन्धनसँग सकारात्मक छौं, हामीले विगतमा धोका खाएकाले सहमतिको निर्णय गरेरै सामेल हुने भनेका छौं, आजै प्रदेश र प्रतिनिधिसभा सदस्यहरूको बैठक बोलाएका छौं, त्यसबाट निर्णय गर्नेछौं, आजको मन्त्रिपरिषद् बैठकमा सहभागी हुँदैनौं ।’

उनले तीन प्रदेश र संघमा आफ्नो पार्टीको प्रतिनिधित्व रहेकाले सोहीअनुसारको सहभागिता निश्चित हुनुपर्ने बताए । ‘गठबन्धन भत्किएर नयाँ बनेको साँचो हो, म अहिले नयाँ टीमको बैठकबाट निस्केको देख्नुभयो, हामी तीन प्रदेश र संघमा छौं, सुदूरपश्चिममा त हामी निर्णायक छौं, यही अनुसार अगाडि बढ्न आग्रह गरेर निस्केको छु ।’

‘सुदूरमा हामी निर्णायक छौं, हाम्रो पार्टी नै थारु विद्रोहबाट जन्मेको हो, त्यसैले उसको बाहुल्य क्षेत्रमा नेतृत्व दिएर जानुपर्छ, यसमा हामीले दाबी गर्ने होइन, जसरी पनि पाउनुपर्छ । अरु ठाउँमा त्यहीअनुसारको सहभागिता हुनुपर्ने छ’ चौधरीले भने ।