Skip to main content

सुदूरपश्चिममा माओवादी केन्द्रले फिर्ता लियो सरकारलाई दिएको समर्थन

Submitted by editor on
शिवराज भट्ट
सुदूरपश्चिममा माओवादी केन्द्रले फिर्ता लियो सरकारलाई दिएको समर्थन

धनगढी : नेकपा माओवादीले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सभा भवनमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता मान बहादुर धामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए । नेकपा माओवादी केन्द्रका सभामुख सहित ११ प्रदेश सभा सदस्य छन । 

तर पनि मुख्यमन्त्री कमल बहादुर शाहसँग भने ३० प्रदेश सभा सदस्यको बहुमत कायमै रहन्छ । उनलाई काँग्रेसका १९, नागरिक उन्मुक्ति पार्टीका ७ र समाजवादीका ४ गरी ३० जनाको समर्थन कायमै छ । बहुमतका लागि २७ जनाको समर्थन आवश्यक पर्छ ।

केन्द्रमा नागरिक उन्मुक्ति र समाजवादी गठबन्धनमा सहभागि हुने वा नहुने निर्णयमा पुगि नसकेकाले सुदूरपश्चिममा पनि यी दुुई दलले सरकारको समर्थन फिर्ता लिएका छैनन । 

मंगलबार मात्रै मुख्यमन्त्री कमल बहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेपछि माओवादीले पनि आज सरकारको समर्थन फिर्ता लिएको हो ।

मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी र राज्य मन्त्री गीतादेबी माललाई बर्खास्त गरेका थिए ।