Skip to main content

मुख्यमन्त्री शाहद्वारा आर्थिक मामिला मन्त्री नरेश कुमार शाही बर्खास्त

Submitted by editor on
शिवराज भट्ट
नरेश कुमार शाहीलाई बर्खास्त

धनगढी :  नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेका बेला मुख्यमन्त्री कमल बहादुर शाहले आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीलाई बर्खास्त गरेका छन । आज (विहीबार) विहान मुख्यन्त्री शाहले मन्त्री शाहलाई हटाएर प्रदेश प्रमुखबाट प्रमाणिकरण समेत गराईसकेका छन ।

शाही नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रदेशको आर्थिक मामिला मन्त्री थिए । मंगलबार मात्रै मुख्यमन्त्री शाहले नेकपा माओवादी केन्द्रका २ जना मन्त्री र एक जना राज्यमन्त्रीलाई बर्खास्त गरेका थिए । 

नेकपा एकीकृत समाजवादी पार्टीले केहीबेरमा मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । समाजवादीका ४ जना प्रदेश सभा सदस्य छन । समाजवादीले साढे १० बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । आफ्नै क्याबिनेटका मन्त्री हटाएसँगै मुख्यमन्त्री शाह अल्पमतमा पर्ने निश्चित भएको छ ।

केन्द्रमा समाजवादी नयाँ सत्ता गठबन्धनमा सहभागि भएसँगै समाजवादीले सुदूरपश्चिममा पनि मुख्यमन्त्री कमल बहादुर शाहलाई दिईएको समर्थन फिर्ता लिने निर्णयमा पुुगेको हो । 

बुधबार नेकपा माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिएको थियो । समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहसँग अब २६ जनाको मात्रै समर्थन रहन्छ ।  नेपाली काँग्रेसका १८ जना, नागरिक उन्मुक्तिका ७ जना  र स्वतन्त्र १ जना गरी २६ जनाको मात्रै मुख्यमन्त्री शाहलाई सहर्थन रहने छ । 

स्तन्त्र सांसद डाक्टर तारादत्त जोशी भने अहिले पर्ख र हेरको अवस्थामा छन । उनले अहिलेसम्म कुनै पनि निर्णयमा नपुुगेको बताएका छन । 
तर नागरिक उन्मुक्ति अझै सत्ता गठबन्धनमा सहभागि नभएकाले सुदूरपश्चिममा सरकार बनाउन नयाँ गठबन्धनलाई पनि बहुमत नपुुग्ने देखिन्छ । समाजवादीले समर्थन फिर्ता लिएसँगै शाहसँग २६ र नयाँ गठबन्धनमा २५ जना भएका छन । राप्रपाका एकजना प्रदेश सभा सदस्यले पुरानो गठबन्धनमा विपक्षमा भोट हालेका थिए ।