Skip to main content

मुख्यमन्त्री शाह सरकार जोगाउन अन्तिम कसरतमा, स्वतन्त्र र राप्रपालाई मन्त्री अफर

Submitted by editor on
मुख्यमन्त्री शाहसँग काँग्रेसका १८, उन्मुक्तिका ७ र स्वतन्त्र १ गरी २६ जनाको समर्थन छ भने नयाँ गठबन्धनमा माओवादी ११, एमाले १० र समाजवादी ४ गरी २५ सदस्य मात्र छन । बहुमतका लागि २७ सदस्य आवश्यक पर्छन ।
शिवराज भट्ट
नयाँ समिकरण अल्पमतमा

धनगढी : केन्द्रमा सत्ता समिकरण फेरिएपनि, सुदूूरपश्चिममा नयाँ समिकरण अनुसार सरकार बनाउन सकस भएको छ । निर्णयक रहेको नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागि नभएकाले नयाँ समिकरण अल्पमतमा छ । यसको फाईदा उठाउदै काँग्रेस नेतृत्वका मुख्यमन्त्री कमल बहादुर शाहले नयाँ समिकरण बनाउन सुरु गरेका हुन ।

निर्णायक रुपमा रहेको नागरिक उन्मुक्तिले सत्ता गठबन्धनमा जाने नजाने बारे निर्णय नगरिसकेको अवस्थामा मुख्यमन्त्री शाहलाई बहुमत जुटाउन सहज भएको छ । नागरिक उन्मुक्तिले साथ नछोडे उनलाई बहुमतका लागि २ प्रदेश सभा सदस्य मात्र आवश्यक पर्छन ।

उनले अहिले सत्ता गठबन्धन बाहिर रहेको राप्रपा र स्वतन्त्र सांसदलाई मन्त्री अफर गरेर बहुमत हासिल गर्ने रणनीति बनाएका छन । प्रदेश सभामा राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेश सदस्य छन । राप्रपाकी प्रदेश सभा सदस्य खेमा देबी विष्टलाई मुख्यमन्त्री शाहले उद्योग पर्यटन बन तथा वातावरण मन्त्री र स्वतन्त्र सांसद डाक्टर तारा दत्त जोशीलाई आर्थिक मामिला मन्त्री अफर गरेका छन ।

यद्यपी बिहीबार यो समाचार तयार पार्दासम्म दुुबै जनाले मन्त्री अफरबारे कुनै निर्णय भने गरिसकेका छैनन । ‘मुख्यमन्त्री ज्युले भेटौं भन्नुभएको छ । म त डडेल्धुरा थिए, आजै धनगढी पुगेको छु । मुख्यमन्त्री ज्युसँग भेटेपछि निर्णय गर्छु’ स्वतन्त्र सांसद डाक्टर तारादत्त जोशीले भने ।

मुख्यमन्त्री शाहसँग विहीबारसम्म काँग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ७ र स्वतन्त्र सांसद १ गरी २६ जनाको समर्थन छ । मुख्यमन्त्री शाहले विश्वासको मत लिएका बेला स्वतन्त्र सांसद जोशीले पनि मुख्यमन्त्री शाहको पक्षमा मतदान गरेका थिए । राप्रपाले भने विपक्षमा मतदान गरेको थियो ।

मुख्यमन्त्री शाहले राप्रपाको साथ खोजिरहेका हुन । नयाँ गठबन्धन अनुसार ११ प्रदेश सभा सदस्य रहेको नेकपा माओवादी केन्द्र र ४ प्रदेश सभा सदय रहेको नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिई सकेका छन । नयाँ सत्ता गठबन्धनमा माओवादी ११, एमाले १० र समाजवादी ४ गरी २५ प्रदेश सभा सदस्य पुुगेका छन । 

नेकपा एमाले नेतृत्वको गठबन्धन स्वतन्त्र सांसद जोशीलाई, शाहलाई दिएको समर्थन फिर्ता लिन फकाईरहेको छ भने मुख्यमन्त्री शाहले उनलाई आर्थिक मामिला मन्त्री नै अफर गरेका छन । केन्द्रको सत्ता गठबन्धनमा नगएको नागरिक उन्मुक्ति पार्टीका नेताहरु पनि राप्रपा र स्वतन्त्रलाई शाह नेतृत्वको सरकारमा सहभागि हुन आग्रह गरिरहेको बताईएको छ ।

रेशम चौधरीलाई निर्वाचन आयोगले अध्यक्षको मान्यता नदिएपछि उनी बर्तमान सत्ता गठनबन्धन प्रति झन चिढिएका छन । रेशम चौधरी विहीबार नै धनगढी पुुगेर कमल बहादुर शाह नेतृत्वको गठबन्धन जोगाउने तयारीमा जुटेको पनि स्रोतले जनाएको छ । 

रेशमले अहिले २ मन्त्री र एक राज्यमन्त्री लिने र मुख्यमन्त्री आलोपालोमा चलाउने सहमतिको प्रस्ताव शाहलाई गरेको स्रोतको दाबी छ । यसैक्रममा अछामको बैद्यनाथ धामको शुक्रबार हुने समापन समारोहमा सहभागि हुन अछाम जान लागेका प्रदेश प्रमुख देबराज जोशी पनि डडेल्धुराबाट फिर्ता भएको बताईएको छ ।

उनलाई माहौल मिले विहीबार नै मन्त्रीमण्डल विस्तार गरी सपथ गर्नुपर्ने र नभए शुक्रबार सम्म मन्त्रीमण्डल विस्तार गर्ने भन्दै मुख्यमन्त्रीले फिर्ता बोलाएका हुन । जोशी पनि नेपाली काँग्रेसबाटै प्रदेश प्रमुख भएका हुन ।

राप्रपा र स्वतन्त्र सांसदले मन्त्रीको अफर स्वीकार गरे शुक्रबार नै दुुबै जनाको सपथ हुने र मुख्यमन्त्रीले यथासक्य चाँडो विश्वासको मत लिने तयारीमा रहेको स्रोतले जनाएको छ । नयाँ गठबन्धन बनेकै दिन मुख्यमन्त्री शाहले आफुले नयाँ गठबन्धन बनाउने र सरकार नढल्ने भन्दै मन्त्रीहरुलाई ब्रिफिङ गरेका थिए ।