Skip to main content

प्रदेशको विकासका लागि स्थिर सरकार आवश्यक : मुख्यमन्त्री शाह

Submitted by editor on
ईबिगुल संवाददाता
 कमल बहादुर शाह

डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको समृद्धि र विकासका लागि स्थिर सरकार आवश्यक रहेको बताएका छन् । डोटीको वडीकेदार गाउँ कार्यपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री शाहले यस्तो बताएका हुन ।

‘पछिल्लो पटक हामी स्थिर सरकारको पक्षमा छौँ । सबै प्रदेशमा रहेका दलहरू सँग मैले छलफल अगाडी बढाएको छु । हिजोको निर्वाचनमा हामी जसरी जनताका बिचमा स्थिर सरकार बनाउने छौ भन्ने बाचा गरेका थियौं । त्यसको पूर्ण कार्यान्वयनमा सरकार अगाडि बढिरहेका बेला केही परिवर्तनका संकेत देखिएका छन’ उनले भने ।

‘यसमा पनि हामीले सबै सँग प्रदेशको समृद्धि विकासका लागि स्थिर सरकार अहिलेको आवश्यकता रहेकाले त्यसका लागि पहल थाली सकेको छु ।’ मुख्यमन्त्री शाहले संघीयताको भावना अनुरूप जनतालाई पालिकाले प्रदान गर्ने सेवा सुविधा सरल, सहज र गुणस्तरीय हुनुपर्ने बताए । 

‘जनतालाई पालिका सरकार हाम्रो हो भन्ने भावनाको विकास गराउनु होला’ मुख्यमन्त्री शाहले आग्रह गरे । संविधानको मुलमर्म अनुसार तीन तहका सरकार बिच समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुरूप नागरिकको जीवनस्तर उठाउने कार्यहरूमा प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रम सुदूरपश्चिम प्रदेश सभा सदस्य शिव सिह ओलीले स्थानीय तहको सरकार जनताका नजिकको सरकार रहेको भन्दै सेवा प्रवाह गुणस्तरीय बनाउन आवश्यक रहेको बताए ।

नवनिर्मित मुख्य प्रशासनिक भवन संघीय सरकारको समपूरक अनुदानमा  २ करोड ५७ लाखको लागतमा निर्माण भएको हो ।