Skip to main content

Breaking : शाह नेतृत्वको सरकार आजै छोडन नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जीता श्रेष्ठद्वारा संसदीय दललाई निर्देशन

Submitted by editor on
कमल बहादुर शाह नेतृत्वको सरकारबाट फिर्ता हुन निर्देशन दिई सकेकी छु । आज संसदीय दलको बैठक बस्छ र सरकारबाट फिर्ता हुने निर्णय हुन्छ ।
शिवराज भट्ट
शाह नेतृत्वको सरकार आजै छोडन

धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले कमल बहादुर शाह नेतृत्वको सरकार आजै छोडन आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएकी छिन ।

पार्टी अध्यक्षसँग कुनै सरसल्लाह नै नगरि शुक्रबार मध्यराती सरकारमा किन गएको भन्दै पार्टी अध्यक्ष चौधरीले संसदीय दलका नेता घनश्याम चौधरीलाई आजै सरकार छोडन निर्देशन दिएकी हुन ।

शनिबार ईविगुल डटकमसँग कुराकानी गर्दै अध्यक्ष चौधरीले भनिन, ‘कमल बहादुर शाह नेतृत्वको सरकारबाट फिर्ता हुन निर्देशन दिई सकेकी छु । आज संसदीय दलको बैठक बस्छ र सरकारबाट फिर्ता हुने निर्णय हुन्छ ।’ 

उनले सरकारमा जाने नजाने बारेमा पार्टी अध्यक्षसँग कुनै छलफल नै नगरिएको बताईन । ‘म विरामी थिए, तर म सँग कुनै सरसल्लाह नै नगरि मन्त्रीको सपथ खाएका रहेछन । पार्टी विधि विधानबाट चल्नुपर्छ’ उनले भनिन । ‘आजै सरकारबाट फिर्ता भएको निर्णय हुन्छ ।’

नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्य मध्ये शुक्रबारको सरकार विस्तार पछि ३ जना मन्त्री र १ जना राज्यमन्त्री भएका छन । शुक्रबार मध्य राती मुख्यमन्त्री कमल बहादुर शाहले उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, रञ्जीताको नजिक मानिएका खुसीराम चौधरीलाई विना विभागीय मन्त्री र ईन्द्रा गिरिलाई भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका थिए । उन्मुुक्तिका रामेश्वर चौधरी सहित अहिले ४ जना सरकारमा गएका छन । 

उनले आफ्नो पार्टी नयाँ गठबन्धनमै रहेको बताईन । ‘हामी नयाँ बनेको गठबन्धनमै छौं । विहीबारको सदनमा पनि हामी सत्ता पक्षमा बसेका छौं, यो भनेको सुदूरपश्चिममा पनि नयाँ गठबन्धनलाई समर्थन गर्नु हो’ उनले भनिन । 

सल्लाह नै नगरेर सरकारमा गएका संसदीय दलका नेता घनश्याम चौधरीले सरकारबाट फिर्ता नभएपछि के हुन्छ ? भन्ने ई विगुलको जिज्ञासामा पार्टी अध्यक्ष रञ्जीताले भनिन, ‘नागरिक उन्मुक्ति पार्टी विधि विधानबाट चलेको पार्टी हो । दलको ह्विप नमान्नेलाई के हुन्छ, त्यो पछि हुदै गर्छ ।’ 

अहिले नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जीता बीच सरकारमा जाने वा नजाने बारे विवाद देखिएको छ ।