Skip to main content

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने नदिने बारे नागरिक उन्मुक्तिभीत्र फेरि विवाद

Submitted by editor on
ईबिगुल संवाददाता
 नागरिक उन्मुक्तिभीत्र फेरि विवाद

धनगढी : प्रधानमन्त्री पुुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने र नदिनेमा फेरि नागरिक उन्मुक्ति पार्टीभीत्र विवाद देखिएको छ । अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीको उपस्थिति बिना नै सोमबार टीकापुरमा भएको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले संघमा प्रतिपक्षमा बस्ने निर्णय गरेकै भोलीपल्ट मंगलबार अध्यक्ष रञ्जीताले पुुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्विप जारी गरेकी छिन । 

प्रधानमन्त्री दाहालले फाल्गुन ३० गते बुधबार प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको हो । 

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता समेत रहही रञ्जिता श्रेष्ठ चौधरीले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ ।’

मंगलबार बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो ।

विश्वासको मतबारे निर्णय गर्न पार्टी अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठको अध्यक्षतामा सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बैठक बसेको थियो ।

तर सोमबार उपाध्यक्ष दामोदर पण्डितको अध्यक्षतामा बसेको टीकापुरको बैठकले भने केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने, प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन नदिने निर्णय गरेको थियो । 

प्रदेश सरकारको हकमा वार्ता समितिले विभिन्न दलहरुसँग सहकार्य र समन्वय गरी सम्बाद अघि बढाउने  निर्णय गरेको थियो । कैलालीबाट मात्रै नागरिक उन्मुक्तिका ३ जना र बर्दियाबाट एकजना प्रतिनिधि सभा सदस्य छन ।