Skip to main content

जिल्ला सदस्य हारेकालाई उपाध्यक्ष बनाएको भन्दै एमाले पार्टी कार्यालयमा तालाबन्दी

Submitted by editor on
पदाधिकारीमा लगभग सर्वसम्मती, ४ बजे घोषणा गर्ने तयारी
ईबिगुल संवाददाता
कञ्चनपुरको पार्टी कार्यालयमा तालाबन्दी

महेन्द्रनगर : जिल्ला सदस्यमा हारेका ब्यक्तिलाई उपाध्यक्षमा सर्वसम्मत चयन गरेपछि नेकपा एमाले कञ्चनपुरको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । सचिवका दाबेदार रहेका तर सर्वसम्मती भए उपाध्यक्षमा पनि जान तयार रहेका कर्ण बहादुर चन्दले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन ।

उनले गत जिल्ला अधिवेशनमा जिल्ला सदस्य हारेका जनकराज अवस्थीलाई उपाध्यक्ष बनाएको भन्दै विरोध जनाएका छन । ‘सर्वसम्मतमा अरु कुराको विरोध होईन, जसले जिल्ला सदस्य हारे, उनलाई पार्टीको उपाध्यक्ष कसरी स्वीकार गर्ने ?’ चन्दले भने । 

एमालेका पदाधीकारीमा सर्वसम्मत गर्ने भन्दै अध्यक्ष मण्डलले आईतबार सबैको उमेदवारी फिर्ता गराएको थियो । स्रोतका अनुसार अध्यक्षमा अहिले कार्यबाहक अध्यक्ष रहेकी लक्ष्मी बुढा, उपाध्यक्षमा जनकराज अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा अशोक चन्द र राजीव खडकाका बारेमा लगभग सहमति जुटेको थियो । 

आईतबार सम्म सचिव वा उपाध्यक्षमा कर्ण बहादुर चन्दको पनि नाम रहेको स्रोतले बतायो । अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार नेताहरुले सर्वसम्मतको प्रयास गरेका हुन ।

अशोक चन्द अध्यक्षमा उमेदवारी दिएका ब्यक्ति हुन भने चन्द यसअघिको अधिवेशनमा उप सचिवमा सर्वाधिक मत ल्याएर जितेका हुन । अध्यक्ष मण्डलले सोमबार ४ बजे पदाधिकारीमा सर्वसम्मत चयन भएको  घोषणा गर्ने तयारी गरेका छन तर सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेपछि अन्यौलता देखिएको छ ।