Skip to main content

अल्पमतका मुख्यमन्त्री शाहको स्वतन्त्र सांसदलाई प्रस्ताव ‘तपाईको विद्वता हामीलाई चाहिएको छ’

Submitted by editor on
शिवराज भट्ट
कमल बहादुर शाह

धनगढी : विश्वासको मत दिएको १३ महिनासम्म पनि वास्ता नगरेका मुख्यमन्त्री कमल बहादुर शाहले सरकार अल्पमतमा परेपछि, स्वतन्त्र सांसद डाक्टर तारा प्रसाद जोशीलाई मन्त्री अफर गरेका छन । 

सोमबार क्याप्टेन बेद उप्रेतीको ‘भूस्वर्गको परिकल्पना, सुदूरपश्चिम नेपाल’ नामक पुस्तक विमर्स कार्यक्रममा एकै मञ्चमा रहेका मुख्यमन्त्री शाहले डाक्टर जोशीलाई मन्त्री अफर गरेका हुन । ‘

 ‘मेरो आग्रह छ डा.तारा जोशी सरलाई  आउनुहोस् सँगै जाऔँ,  एउटै क्याबिनेटमा आउनुहोस’ सुदूरपश्चिम मुख्यमन्त्री शाहले भने । ‘तपाईँको विद्वत्ता हामीलाई चाहिएको छ, तपाईँको साथ हामीलाई चाहिएको छ, यस्ता यस्ता व्यक्तिको साथ र सहयोगमा हामी अगाडि बढ्न चाहन्छौँ ।’

मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिएका बेला डाक्टर जोशीले पनि उनको समर्थनमा भोट हालेका थिए । अहिले पनि जोशीले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिएका छैनन । त्यतीबेला मुख्यमन्त्री शाहलाई, काँग्रेसका १९, माओवादीका ११, नागरिक उन्मुक्तिका ७, समाजवादीका ४  र स्वतन्त्र सांसद जोशी गरी ४२ जनाको समर्थन रहेको थियो । ५३ सदस्यीय प्रदेश सभामा यो संख्या दुई तिहाई बहुमत हो ।

त्यतीबेला डाक्टर जोशीको आवश्यकता र विद्वता नदेखेका मुख्यमन्त्री शाहले सरकार अल्पमतमा परेपछि उनको विद्वता देखेका हुन ।

माओवादी र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन । अहिले उनलाई आफुनो पार्टी (काँग्रेस) का १८ (एक जनाको निधन), नागरिक उन्मुक्ति पार्टीका ७ र स्वतन्त्र प्रदेश सभा सदस्य जोशी गरी २६ जनाको समर्थन रहेको छ ।