Skip to main content

विदेशबाट फर्केका रेशमलाई विमानस्थलमै रञ्जीताको अंगालो

Submitted by editor on
ईबिगुल संवाददाता
विदेशबाट फर्केका रेशमलाई विमानस्थलमै रञ्जीताको अंगालो

धनगढी : सरकारमा जाने वा नजाने तिब्र मतभेदमा देखिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जीताको त्रिभुवन विमानस्थलको फोटो सार्वजनिक भएको छ । जापानबाट फर्केका रेशम (पती) लाई रञ्जीताले अंगालो हालेको फोटो सार्वजनिक भएको हो ।

केही दिनदेखि रेशम जापानमा थिए । रेशमले जापानमै रहेका बेला पार्टीभीत्र सरकारमा जाने र फिर्ता हुने दोहोरी नै चलेको थियो । रञ्जीताको अध्यक्षतामा चैत १४ गते टीकापुरमा बसेको केन्द्रिय कमिटिको बैठकले सत्ता गठबन्धनलाई सहयोग गर्ने र प्रदेशहरुमा पनि सरकार बनाउन सहयोग गर्ने निर्णय गरेको थियो ।

त्यो निर्णय पार्टीका प्रवक्ता समेत रहेका उपाध्यक्ष दामोदर पण्डितले मिडियामा बोलेका पनि थिए तर त्यसको दुुई दिन पछि तिनै दामोदर पण्डितको उक्त निर्णयमा आफ्नो सहमति नभएको विज्ञप्ती सार्वजनिक भएको थियो । बैठकमा रहेको सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीले पनि उक्त निर्णयमा आफुपनि सहमत नरहेको भन्दै विज्ञप्ती निकालेका थिए ।

चैत १६गते पार्टी अध्यक्ष रञ्जीता चौधरीले संसदीय दलका नेता धनश्याम चौधरीलाई सरकारबाट बाहिरिन लिखित पत्र नै पठाएकी थिईन । त्यसको काउन्टरमा उनले सरकार नछोडने प्रतिक्रिया दिएका थिए । नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्य मध्ये ४ जना मन्त्री र एकजना राज्यमन्त्री भइसकेका छन ।

ती ५ जना रेशमको पक्षमा देखिएका छन भने एकजनाले पनि मत नदिए कमल बहादुर शाह नेतृत्वको सरकार खस्ने भएकाले रञ्जीताले पनि आफ्ना २ जना प्रदेश सभा सदस्य रोकेर राखेकी छिन । यसबीचमा पनि रेशम र रञ्जीताका बीच तिब्र विवाद भएको समाचारहरु सार्वजनिक भएका थिए ।

तर विदेशबाट आएका श्रीमान रेशमलाल चौधरीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पुगेर रञ्जीताले अंगालो हालेको  तस्बिर सार्वजनिक भएपनि उनीहरु बीच खासै विवाद नरहेको देखिन्छन ।