Skip to main content

सुदूरपश्चिम प्रदेश सभाको बैठक विहीबार दिउसो ३ बजे बस्ने, मुख्यमन्त्रीले विश्वासको मत लिने

Submitted by editor on
ईबिगुल संवाददाता
सुदूरपश्चिम प्रदेश सभाको बैठक विहीबार दिउसो ३ बजे बस्ने, मुख्यमन्त्रीले विश्वासको मत लिने

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने भएपछि चैत २२ गते विहीबार दिउसो ३ बजे संसद बैठक आह्वान गरिएको छ । 

मंगलबार बिहान विश्वासको मतका लागि संसद बोलाई दिन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सभामुखलाई पत्र पठाएपछि सभामुख भीम बहादुर भण्डारीले विहीबार ३ बजेका लागि संसद बोलाएको बताए । सभामुख मण्डारीले बुधबार ११ बजे कार्यब्यवस्था परामर्ष समितिको बैठक पनि बोलाइएको बताए । 

नेकपा माओवादी केन्द्र र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह फागुनको २३ गते देखि अल्पमतमा परेका थिए । १८ प्रदेश सभा सदस्य रहेको काँग्रेसलाई नागरिक उन्मुक्तिका ७ जना र एक जना स्वतन्त्र गरी २६ जनाको समर्थन कायमै छ । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा उनलाई बहुमतका लागि २७ प्रदेश सभा सदस्यको संख्या पुग्नुपर्छ ।

नागरिक उन्मुक्तिभीत्र मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने र नदिने भन्दै मतविभाजन देखिएको छ । मुख्यमन्त्री शाहले आज काठमाण्डौंमा उन्मुक्तिका अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी र संरक्षक रेशमलाल चौधरीसँग भेटघाट पनि गरेका छन ।

नागरिक उन्मुक्तिका ७ जनाले उनलाई समर्थन गर्ने निर्णय ग¥यो भने राप्रपा र स्वतन्त्रले पनि मुख्यमन्त्री शाहलाई समर्थन गर्न सक्ने सम्भावना देखिएको छ । तर नागरिक उन्मुक्तिका एक जना प्रदेश सभा सदस्य पनि अनुपस्थित भएमा शाहको बहुमत पुग्दैन ।

सुदूरपश्चिम प्रदेश सभामा काँग्रेसका १८ (एकजनाको निधन), माओवादीका सभामुख सहित ११, नेकपा एमालेका उपसभामुख सहित १०, नागरिक उन्मुक्तिका ७, समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ गरी ५२ प्रदेश सभा सदस्य छन । नागरिक उन्मुक्तिभीत्र सरकारमा जाने र नजाने दुई गुट देखिएपछि प्रदेश सरकार कसले बनाउने भन्नेमा टुंगो भने छैन ।