Skip to main content

सशस्त्र प्रहरीको अर्को अप्रेशन, बैयाबेहडीको सिएल मार्टको ग्यालरीबाट पौने ९ लाखको कपडा बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
सशस्त्र प्रहरीको अर्को अप्रेशन, बैयाबेहडीको सिएल मार्टको ग्यालरीबाट पौने ९ लाखको कपडा बरामद

धनगढी :  धनगढीको बसपार्क पछाडि पश्चिम धनगढी ट्रान्सपोर्टको गोदामबाट ५३ लाखको सामान बरामद गरेकै तेस्रो दिन सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका २ बैयाबेहडी क्षेत्रबाट पनि आज विहान पौने ९ लाख बराबरको कपडा बरामद गरेको छ । 

सशस्त्र प्रहरी नं. ३४ गण कैलालीमा आएका एसपी दल बहादुर पाण्डेले चोरीपैठारी गरि ल्याईएको सामान धमाधम बरामद गर्न थालेका हुन । विषेश सूचनाका आधारमा सशस्त्र प्रहरी उपरिक्षक पाण्डेको कमाण्डमा गएको प्रहरी टोलीले उक्त सामान बरामद गरेका हो । 

सूचना आएपछि सशस्त्र प्रहरी उपरिक्षक पाण्डे आफै अप्रेशनमा खटिने गरेका छन । बैयाबेहडीमा रहेको सि.एल.मार्ट को ग्यालरीमा ६ वटा बोरामा राखिएको अवस्थामा धोती र कुर्ता सुरुवाल बरामद भएका हुन । सशस्त्र प्रहरीले ८ लाख ७४ हजारको मुल्यांकन गरेर प्रक्राउ गरिएको सबै सामान कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाईएको छ ।

‘विषेश सूचना आयो, म आफै खटिने गरेको छु । मान्छे पनि समात्ने प्रयास हुन्छ, तर कोही आएन । आज विहान पनि सामान राखिएको ग्यालरी वरिपरिका सटरहरु बन्द थिए । कसैले मेरो हो भनेर सकार गर्न पनि आएन’ सशस्त्र प्रहरी उपरिक्षक पाण्डेले भने । 

बसपार्कको पछाडीको पश्चिम धनगढी ट्रान्सपोर्टको गोदामबाट बरामद भएको सामान धनगढीकै बालाजी फैन्सी स्टोरका सञ्चालन अंकुश गसीताको रहेको खुलेका थियो ।