डडेल्धुरा : पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका समापति शेर बहादुर देउवाले गृहजिल्ला गाउँ गाउँ पुगेर आफ्नो बाल्यकाल स्मरण गरेका छन । उनले आफुले गाउँ छोडेर प्रजातान्त्रिक आन्दोलनमा लागेको गाउँ र अहिलेको गाउँमा धेरैफरक भईसकेको बताए ।
बिहीबार नवदुर्गा गाउँपालिका र भागेश्वर गाउँपालिकाको बगरकोट पुगेका देउवाले यी सडकहरू कालोपत्रे भएपछि निकै सहज भएको बताए । देउवाले भने, ‘प्रजातन्त्रका लागि लड्दा, भनौँ २०४८ सालको चुनावमा म उम्मेदवार हुँदा हिँडेरै सबैको घरघर पुगेको हुँ । धेरैलाई चिन्थेँ । अहिले त गाउँमा कोही रहेनन् । त्यो बेला गाउँमा रेडियो पनि कोही कोहीसँग मात्रै हुन्थ्यो । खानेपानीको साह्रै समस्या थियो । ओहो ! अहिले त धेरै गाउँमा खानेपानी, सडक पुगेको छ । सञ्चार जगतको विकास भएको छ । अझै सडक चौडा पारेर कालोपत्रे गर्छु ।’
देउवाले अजयमेरु गाउँपालिका–१ पुइलेकमा हवाई मैदान निर्माणका लागि सम्भाव्यता सर्भे भएको र अब ‘डिटेल सर्भे, डिटेल डिजाइनिङ’ गरिने बताए । यी दुई वटै सर्भे भएपछि बजेट ल्याउने उनले बताए । पछिल्लो एक दशकमा डडेलधुरामा एक दर्जन पक्की पुल निर्माण भएसँगै स्थानीयलाई निकै सहज भएको उनले बताए ।
देउवाले पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको बताए । भारतले पश्चिम सेती बनाउन लागेको उल्लेख गर्दै यो योजना बने राम्रो हुने उनले बताए । भारतको एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ (एसआर–६) जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ । ‘पश्चिम सेती अब इन्डियाले बनाइदिने भन्या छ, त्यो धेरै राम्रो हो,’ उनले भने, ‘करिब करिब बन्ने भइसकेको छ । पश्चिम सेती बन्यो भने त हामीलाई सजिलो हुन्छ ।’
लगानी बोर्डका तत्कालीन निर्देशक सुशील भट्टका अनुसार एनएचपिसीले गत असार ५ गते डिपिआरको मस्यौदा बुझाएको थियो । यसमा लगानी बोर्डले आवश्यक अध्ययन प्रतिक्रिया दिइसकेपछि त्यसलाई सम्बोधन गरेर अन्तिम डिपिआर तयार हुने छ । अन्तिम डिपिआर तयार भएपछि परियोजना विकास सम्झौता (पिडिए) प्रक्रिया अगाडि बढ्ने छ ।
परियोजनाको अन्तिम डिपिआरले समग्र सामाजिक, आर्थिक, भौगर्भिक, प्राविधिक एवं वातावरणीय पक्षबारे जानकारी दिनेछ । त्यस्तै परियोजनाको अनुमानित लागत, आयोजना निर्माण सुरु तथा सम्पन्न हुने समय र कार्ययोजना, बजार सुनिश्चितता, प्रसारण लाइन निर्माण, वित्तीय स्रोतको उपलब्धता लगायतका विषयमा पनि डिपिआरले मार्गदर्शन गर्नेछ । डिपिआरको विश्लेषणपछि परियोजना अगाडि बढाउन चाहेमा पिडिए हुने छ ।
यसअघिको अध्ययन अनुसार ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाको लागत एक हजार ३२० मिलियन अमेरिकी डलर र ४५० मेगावाट उत्पादन क्षमताको एसआर–६ आयोजनाको लागत आठ सय मिलियन अमेरिकी डलर बराबर अनुमान गरिएको थियो ।