Skip to main content

निर्मला पन्त प्रकरणको प्रत्यक्षदर्शी भन्दै अन्तर्वार्ता दिएका व्यक्ति छुटे

Submitted by editor on
ईबिगुल संवाददाता
नवराज अर्याल

धनगढी : निर्मला पन्त प्रकरणमा भ्रामक सूचना फैलाउने गरी अन्तर्वार्ता दिएको आरोपमा प्रहरीले पक्राउ गरेका व्यक्ति छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्यसरी अन्तर्वार्ता दिने गोरखाका नवराज अर्याललाई बुधबार दिनभर केरकार गरेर बेलुकी छाडेको हो ।

ब्यूरोका एक अधिकृतले अर्याललाई बोलाएका बेला आउने गरी हाजिर जमानतमा छाडिएको बताए । भ्रम फैलाएको भन्दै सीआईबीले उनलाई हिरासतमै राखेर अनुसन्धान गर्ने तयारी गरेको थियो । अन्तिममा उनले कसैको उक्साहटमा त्यस्तो बयान दिएको नपाइएको र आफूतिर अरुको ध्यान मात्र तान्न खोजेको निष्कर्षसहित मुद्दा नचलाउने निर्णय लिइएको स्रोतको भनाइ छ ।

अन्तर्वार्ता लिने पत्रकार ऋषि धमलासँग पनि प्रहरीले सोधपुछ गरेको थियो । त्यसक्रममा अन्तर्वार्ता हटाउने सहमति भएको प्रहरीले बताएको छ ।
आफूले निर्मलाको बलात्कार हुँदै गरेको देखेको बयान दिएपछि प्रहरीले अर्याललाई बोलाएको थियो । सीआईबीका अनुसार, त्यसक्रममा अर्यालको बयानहरु वास्तविकतासँग मेल खाएको देखिएन ।

प्रहरीले उनकी श्रीमतीलाई समेत बोलाएर अर्यालको पृष्ठभूमिबारे सोधपुछ गरेको थियो । त्यसक्रममा जागिरबाट निकालिएपछि उनी विक्षिप्त भएको खुलेको प्रहरीको भनाइ छ ।